पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणगढ खण्डमा आइतबारदेखि १० दिनसम्म रातिको समयमा यात्रुवाहक र मालवाहक ठुला सवारीसाधन चलाउन रोक लगाइएको छ। त्यस्तै बिपी राजमार्गमा शनिबारदेखि नै रातिको समयमा सवारीसाधन चलाउन रोक लगाइएको छ।
सडक विभाग मातहतको आयोजना निर्देशनालय (एडिबी) का प्रमुख चुडा ढकालका अनुसार बुटवल–नारायणगढ खण्ड बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म बन्द गरिने भएको हो।
‘त्यसबेलासम्म बिनयी खोलामा निर्माण भइरहेको पक्की पुल सञ्चालनमा आउने छ भने दाउन्ने खण्डको २ किमि सडकमा ग्राभेल राखिने छ,’ ढकालले भने, ‘यसबाट केही सहज हुने छ।
’बिनयी खोलाको डाइभर्सन बाढीले बगाएकाले नारायणगढ–बुटवल खण्ड रातिको समयमा बन्द गर्नुपरेको उनले बताए। उनका अनुसार अति आवश्यक सवारीसाधन एम्बुलेन्सलगायत भने रातिको समयमा पनि चल्न सक्नेछन्।
बुटवल–नारायणगढ खण्डमा दैनिक १८ हजारभन्दा बढी सवारी गुड्छन्। बुटवल–नारायणगढ खण्ड विस्तारको काम भइरहेको छ। यो खण्डको दाउन्ने क्षेत्र सामान्य वर्षामा पनि अवरुद्ध हुने गरेको छ। उक्त खण्डको १४ किमि सडक छिचोल्न १०÷१२ घण्टा लाग्ने गरेको छ।
संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका प्रमुख शुभराज न्यौपानेका अनुसार शनिबारदेखि बिपी राजमार्गमा १५ दिनका लागि साँझ साढे ६ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन चलाउन बन्द गरिएको छ। बिपी राजमार्गमा रातिमा सवारीसाधन चलाउन जोखिमपूर्ण भएकाले यस्तो निर्णय गरिएको हो।
जिल्ला प्रशासन कार्यालय काभ्रे र सिन्धुलीले गरेको संंयुक्त निर्णयअनुसार बिपी राजमार्गमा रातिमा सवारी चलाउन बन्द गरिएको न्यौपानेले बताए। गत असोजको वर्षा र बाढीले बिपी राजमार्गमा निकै क्षति पुर्याएको थियो। सडक विभागले बिपी राजमार्ग पुनर्निर्माणको काम अघि बढाएको छ। सडक डिभिजन भक्तपुर र सडक डिभिजन सिन्धुलीले सडक मर्मत गरिरहेका छन्। सडक डिभिजन सिन्धुलीका प्रमुख पारसमणि हमालले पनि अहिले १५ दिनका लागि रातिमा सवारीसाधन चलाउन रोक लगाइएको बताए।
सडक विभागका सूचना अधिकारी अमित शर्माका अनुसार कालीगण्डकी करिडोर अझै खुलाउन सकिएको छैन। कालीगण्डकी करिडोरअन्तर्गत गुल्मीको गरगरे खोलाको पहिरो पन्छयाउन नसक्दा समस्या भएको विभागले जनाएको छ।
प्रकाशित: ८ असार २०८२ ०६:३२ आइतबार





