चार वर्षदेखि प्रतीक्षा गरिएको ललितपुरस्थित ग्वार्को ओभरपास शुक्रबारबाट विधिवत् रूपमा सञ्चालनमा आएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख वरिष्ठ उपरीक्षक नवराज अधिकारीले रिबन काटेर उद्घाटन गरेसँगै ओभरपास सञ्चालनमा आएको हो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ओभरपास उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीबाट रिबन कटाउने कार्यक्रम तय गरेको थियो। तर ओलीले ओभरपास उद्घाटनको रिबन आफूले नकाटी ट्राफिक प्रहरी अधिकारीलाई काट्न लगाएका हुन्।
ओभरपासनजिकै राखिएको शिलालेखमा राखिएको कपडा भने प्रधानमन्त्री ओली आफैंले उघारे। शिलालेखमा ओभरपासको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीबाटै गरिएको व्यहोरा उल्लेख छ।
शिलालेखमा राखिएको कपडा उघारेपछि मन्त्रालयका सचिव केशव शर्माले उद्घाटनका लाटि टाँगिएको रिबन काट्न प्रधानमन्त्रीलाई कैंची दिन खोजे। तर प्रधानमन्त्री ओलीले कैंची आफूले नलिई पछाडि हेरेर ट्राफिक प्रहरी खोज्न थाले। उनले ट्राफिक प्रहरीलाई बोलाएपछि सचिव शर्माले उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक अधिकारीलाई अगाडि आउन आग्रह गरेका थिए।
प्रधानमन्त्रीले नै आग्रह गरेपछि अधिकारी अगाडि आए र रिबन पनि काटे। यसरी ओभरपास उद्घाटनपछि सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘सडकको जाम व्यवस्थापन गर्न ट्राफिक प्रहरी सडकमा अहोरात्र खट्छन्। ट्राफिक व्यवस्थापन गर्न उनीहरूले धेरै दुःख र मेहनत गर्नुपरेको हुन्छ। ट्राफिक प्रहरीका वरिष्ठ उपरीक्षक नवराज अधिकारीले ग्वार्को ओभरपासको उद्घाटन गर्दा आज साक्षी बन्ने अवसर मिल्यो।’
उद्घाटन कार्यक्रमपछि ओलीले नेपाल अब दुर्गम देशबाट सुगम देशमा परिणत भइसकेको चर्चा गरे। ‘हामीले हार मानेका छैनौं, दुर्गम देशलाई सुगम देशमा परिणत गरिसकेका छौं,’ उनले भने।
अहिले देशको डाँडाडाँडासम्म खानेपानी पुगिसकेको चर्चा पनि उनले गरे। ओभरपास नेपालकै पहिलो प्रयोग हो। यसअघि चक्रपथ खण्डभित्रै कलंकीमा अन्डरपासको प्रयोग भएको छ। ओभरपास कोटेश्वरतर्फ तीन सय २० मिटर तथा सात दोबाटोतर्फ भने एक सय ८० मिटर लम्बाइ छ। यस ओभरपासमा ३५ मिटर लामो चार लेनको पुल निर्माण भएको छ। गत पुस ९ गतेदेखि उक्त कम्पनीले दैनिक ८५ हजार रूपैयाँ हर्जना तिरेर काम गरेको थियो। गत पुस ८ गतेसम्म काम पूरा गर्न उक्त कम्पनीलाई अन्तिम म्याद दिइएको थियो। अन्तिम म्यादसम्म पनि कम्पनीले काम सम्पन्न नगरेपछि दैनिक ०.०५ प्रतिशतको दरले हर्जना तिरेको हो।
ग्वार्को ओभर पास बनाउन २०७८ फागुन १२ गते ठेकेदार कम्पनीसँग सम्झौता गरिएको थियो। १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा यसको ठेक्का सम्झौता गरिएको थियो। सुरुमा ठेक्का सम्झौता हुँदा २०८० फागुन ११ गतेभित्र काम सम्पन्न गर्ने गरी म्याद तोकिएको थियो।
विभिन्न कारण देखाउँदै ठेकेदार कम्पनीले समयमा काम गर्न सकेन। त्यसपछि यस आयोजनाको म्याद थप गरियो। दोस्रो पटक म्याद थप गरी २०८१ पुस ८ गते काम सक्ने अन्तिम म्याद तोकियो। दोस्रोपटक थप गरिएको म्यादमा पनि काम हुन सकेन। काम भइरहेका बेला सातदोबाटोतर्फ जगबाटै प्यानल वाल भत्काएर फेरि काम गर्नुपरेको थियो। करिब ४० मिटर जति ठाउँमा प्यानल वाल भत्काउनुपरेको आयोजनाको भनाइ छ। ठेकेदार कम्पनीले प्यानल वाल भत्काउँदा पहिले राखेको माटो हटाएर त्यस ठाउँमा पुनः माटो भरेको थियो। सडक विभागका इन्जिनियरहरूले सात दोबाटोतर्फ प्यानल वालमा ग्याप देखेपछि ४० मिटर प्यानल वाल भत्काउन लगाएका थिए।
चक्रपथमै अर्को ओभरपास बन्ने
भौतिक पूर्वाधार मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ मा चक्रपथभित्रै सातदोबाटो या एकान्तकुनामध्ये एक ठाउँमा अर्को एउटा नयाँ ओभरपास बनाउने कार्यक्रम तय गरेको छ। मन्त्रालयका एक उच्च कर्मचारीका अनुसार अर्थ मन्त्रालयले स्रोत सुनिश्चित ग¥यो भने आर्थिक वर्ष २०८२/८३ मा सातदोबाटो या एकान्तकुनामध्ये एक ठाउँमा अर्को एउटा ओभरपास बनाउन मन्त्रालयले प्रक्रिया अघि बढाउनेछ। आर्थिक वर्ष २०८२/८३ मै टेन्डर आह्वानसमेत हुन सक्ने ती अधिकारीले बताए।
प्रकाशित: ७ असार २०८२ ०६:२४ शनिबार