२५ असार २०८२ बुधबार
image/svg+xml
समाज

कोशीका अढाइ हजार घर पहिरोको उच्चजोखिममा

फाइल तस्बिर

कोशी प्रदेशका अढाइ हजार घर पहिरोको उच्च जोखिममा रहेका छन् ।

शुक्रबार आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशले विराटनगरमा आयोजना गरेको मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना संवाद कार्यक्रममा कोशी प्रदेशका २ हजार ४ सय ६६ घर पहिरोको उच्च जोखिममा रहेको जानकारी दिइएको हो । 

उच्च जोखिममा रहेका घर परिवारलाई तत्कालै स्थानान्तरणको आवश्यकता रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । कोशी प्रदेशमा ६३ हजार बढी  घरधुरी पहिरोको जोखिममा रहेको जनाइएको छ । यस्तै १६ हजार बढी घर परिवार बाढीको उच्च जोखिममा रहेको जनाइएको छ । कोशी प्रदेशमा १ लाख १६ हजार घर बाढीको जोखिममा रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशीको तथ्याङ्कमा उल्लेख छ ।

बाढीको जोखिममा परेका घर परिवारहरू अधिकांश कोशी प्रदेशका तराईका जिल्लाहरू झापा, मोरङ, सुनसरी र उदयपुरका रहेका छन् ।  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारको पहिलो चुनौती विपद् नै भएको बताए । मुख्यमन्त्री कार्कीले विपद्का कारण गत वर्ष कोशी प्रदेश सरकारका मात्रै ४ अर्ब बढीका संरचनामा क्षति पुगेको  जानकारी दिए । उनले हरेक वर्ष बाढी पहिरोलगायतका विपद्का कारण धन जनको ठूलो क्षति हुने गरेको बताए । मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा विपद्का घटना न्यूनीकरणका लागि के–के गर्न सकिन्छ स्पष्ट खाका बनाउन मातहत निकायलाई निर्देशनसमेत दिए ।

आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले बाढी र पहिरोको उच्च जोखिममा रहेका घरहरू तत्कालै स्थानान्तरण गर्नु पर्ने अवस्था रहेको बताए । उनले भने,‘प्रदेश सरकारले मार्किङ गरेर उच्च जोखिमको श्रेणीमा राखेका घरहरू तत्कालै स्थानान्तरण गरिहाल्नु पर्ने छ ।’ उच्च जोखिममा रहेका घरहरू तत्कालै स्थानान्तरण नगरे जुन सुकै वेला जनधनको क्षति पुग्ने उनले बताए । मन्त्री भण्डारीले कोशी प्रदेश सरकारले प्रदेशका १ हजार १ सय ५७ वटै वडाको जोखिमको अवस्था मूल्याङ्कन गरी नक्सासमेत तयार पारिएको जानकारी दिए । जसका कारण विपद्का वेला राहत र उद्धारका लागि प्रभावकारी रुपमा काम गर्न सकिने छ । 

प्रकाशित: ६ असार २०८२ १६:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App