जिल्लाको गलकोट नगरपालिका—२ नरेठाँटी मूलाखोलामा २०७२ सालको बाढीले झोलुङ्गे पुल बगायो । नरेठाँटी बजारदेखि माथिल्लो बस्ती साबिक नरेठाँटी गाविसको वडा नम्बर १,२ र ३ तर्फ जाने नागरिकले समस्या झेलिरहे । फेरि झोलुङ्गे पुल त्यहाँ बनेन । मोटर बाटो खनिए पनि मूलाखोलामा बर्खाको समयमा बाढी आउने र मानवीय क्षति हुने जोखिम छँदै थियो । माथिल्लो क्षेत्रमा पानी प¥यो कि गिटी बालुवा सहितको लेदो खोला बग्ने भएकाले बर्खामास सधैं जोखिमपूर्ण थियो ।
पैदल यात्री र सवारी साधनको यात्रा गर्ने सबैका लागि जोखिम उत्तिकै थियो । नरेठाँटीको माथिल्लो बस्ती छाप, राम्चे, तोरी खोला लगायतका स्थानमा बस्ने नागरिकले पाइरहेको सास्ती अब भने सकिएको छ । गण्डकी प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय बागलुङ मार्फत ६.५ मिटरको लम्बाइको कल्भर्ट प्रकृतिको पुल निर्माण गरिएपछि यो समस्या हटेको हो । २० लाख लागतको उक्त कल्भर्ट स्थानीयले उपभोक्ता समिति मार्फत निर्माण गरेको थिए ।
‘यो सडक लाेकमार्गको वैकल्पिक सडक पनि हो, उपल्लो बस्तीका नागरिकका लागि सधैं प्रयोग हुने सडक भैहल्यो,’ उपभोक्ता समितिका अध्यक्ष श्रीकृष्ण भण्डारीले भने,‘थोरै बजेटको काम हामी आफैले गरौँ भनेर उपभोक्ता समिति मार्फत गरेका हौँ ।’ मध्य पहाडी लोकमार्गमा आकस्मिक रुपमा अवद्ध भए यो कल्भर्ट भएर जाने सडक नरेठाँटी फापर खेती छाप ग्रामीण सडक विकल्प हुने बताए ।
‘राष्ट्रिय राजमार्ग मध्य पहाडी लोकमार्गमा समस्या आएको दिनमा यो सडक विकल्प हो,’उनले भने,‘यसको स्तरोन्नति र कल्भर्ट निर्माण जरुरी थियो । नभए यो ठाउँमा गाडी फसेर हैरान बनाउँथ्यो ।’ उपभोक्ता समिति मार्फत काम गर्दा आफुहरु घाटामा परेको उनले सुनाए । ‘हामीले काम गर्दा २० लाख भन्दा बढीको खर्च आएको छ, हामी आफै लागेर काम गरेको छौँ,’उनी भन्छन्,‘पूर्वाधार विकास कार्यालयको इन्जिनियर आएर नाप्दा जम्मा १६ लाख १३ हजार मात्रै उपभोक्ता समितिले पाउने हिसाब निकाल्नुभएको छ । हामीलाई काम गर्दा घाटा परेको छ ।’
पूर्वाधार विकास कार्यालयका इन्जिनियर चन्द्र पुनले प्लमवालको काम नै कम भएका कारण झण्डै दुई लाख रकम घटेको हो । ‘२० लाख बजेटमा उहाँहरूले १९ लाख २० हजारको कर काटेर रकम पाउनुपर्ने हो,’उनले भने,‘फिल्डमा गएर हेर्दा काम कम भएको पाइएपछि झण्डै दुई लाख रकम घटेको हो । मैले पहिले पनि कामको क्वान्टीटी थोरै भएको छ । रकम घट्छ काम बढाउनुस् भनेकै थिएँ ।’ उपभोक्ताको समितिको दोहोरो हाजिरी भन्दा पनि कामको क्वान्टीटी र क्वालिटी जाँच गरेर मात्रै भुक्तानी गर्ने गरिएको उनले सुनाए ।
उक्त स्थानमा गलकोट नगरपालिकाले पनि बजेट विनियोजन गरेर ग्याबिन जाली सहितको पर्खाल लगाउने काम गरेको छ । नगरपालिकाको १० लाख बजेटमा तटबन्ध गर्न लागिएको गलकोट नगरपालिका—२ का वडाध्यक्ष हिमबहादुर भण्डारी ‘हेमन्त’ले बताए । ‘नगरपालिकाले १० लाख छुट्टाएर खेत जोगाउनका लागि यही खोलामा तटबन्ध लगाउने काम भएको छ,’उनले भने,‘यो कल्भर्ट र तटबन्ध बनेपछि यहाँ सहजता हुनेछ ।’
साबिक नरेठाँटी गाविस धेरै खोल्साखोल्सी र खोलाहरू भएको क्षेत्र हो । बर्खाको समयमा धेरै जसो खोलामा भल बाढी आउने जोखिम हुने भएकाले यहाँका विभिन्न ठाउँमा झोलुङ्गे पुलहरू निर्माण गरिएका थिए । अब मोटर बाटोको स्तरोन्नतीसंगै कल्भर्ट निर्माण गरिएपछि झोलुङ्गे पुलहरू विस्थापित गर्ने सोचमा रहेको वडाध्यक्ष भण्डारीले बताए ।
‘हाम्रोमा धेरै खोला भएकाले झोलुङ्गे पुल पनि धेरै थिए, मोटर बाटोको सहजताका लागि कल्भर्ट र पक्की पुल बनाएपछि सवारी साधन र पैदल यात्री सबैका लागि काम लागेको छ,’उनले भने,‘यहाँका झोलुङ्गे पुलहरू विस्थापित गरेर अर्को अति आवश्यक ठाउँमा पठाउने योजनामा छौँ ।’ नरेठाँटीमा चार वटा कल्भर्ट प्रकृतिको पक्की पुल निर्माण भएकाले झोलुङ्गे पुल उपयोग विहीन भएको उनी बताउँछन् ।
‘छोटा र पक्की पुलहरू निर्माण भएपछि लामा लामा झोलुङ्गे पुलहरू प्रयोग बिहिन भएका छन्, फलामे पुल भएका कारण अर्को ठाउँमा सार्न मिल्ने रहेछ,’अध्यक्ष भण्डारीले भने,‘यही पुल अर्को ठाउँमा नयाँ बनाउँदा लाखौँ खर्च हुन्छ । यही पुल फुकालेर स्थानान्तरण गर्दा सस्तो पर्छ । अर्को ठाउँमा पठाउने योजनामा छौँ ।’ नगरपालिका र प्रदेश सरकारको पनि बजेटबाट यी काम भइरहेको उनले जानकारी दिए ।
प्रकाशित: ६ असार २०८२ ११:३३ शुक्रबार





