३२ असार २०८२ बुधबार
image/svg+xml
समाज

राष्ट्रिय राजमार्ग निर्माणमा हेलचेक्राइँ : भाका तीन वर्षको, पाँच वर्षमा बल्ल साठी प्रतिशत काम

धुलोको तुवाँलोले यात्रुलाई सास्ती

सडक संरचना भत्काएर समयमै काम सम्पन्न नगर्दा सुख्खामा सडकमा उडेको धुलोको तुवाँलो । तस्विरः मिथिलेश यादव/नागरिक

सिरहा कमलादेखि सप्तरी कञ्चनपुरसम्म ८६.८३ किलोमिटर पूर्वपश्चिम राष्ट्रिय राजमार्ग निर्माणको ठेक्का पाएको चाइना रेलवे नम्बर २ इन्जिनियरिङ ग्रुपले पाँच वर्षमा पनि निर्माण सम्पन्न गर्न सकेको छैन ।  सन २०२० मा १५ अर्ब ६६ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको यो कम्पनीले २८ अक्टोबर २०२३ मै ८५ किलोमिटर चार सडक, पुल, कल्भर्ट, बाइपास बनाइसक्नु पर्ने थियो । तर, अहिलेसम्म ६० प्रतिशत मात्र काम भएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत विस्तार भइरहेको चार लेन सडक निर्माणको काम सुस्त हुँदा सिरहा र सप्तरीका स्थानीय हिउँदमा धुलो र वर्षामा हिलोको सास्ती खेप्न बाध्य छन् । विस्तारको क्रममा निर्माण कम्पनीले सडक भत्काएर त्यत्तिकै छोडिदिँदा यस राजमार्ग भएर यात्रा गर्नेहरू पनि धुलोको तुवाँलोमा सास फेर्न बाध्य छन् ।

राजमार्गको धुलोमा सास फेर्न बाध्य लहानका शंकर साह आजित भैसकेको छन् । झन्डै पाँच वर्षदेखि निर्माणाधीन चार लेन सडक छेवैको लहानमा पसल गर्दै आएका उनी हिउँदमा धुलो र वर्षामा हिलो झेल्न बाध्य छन् ।

धुलो छल्न मास्क लगाउँदा पनि उनी पटक पटक रुघाखोकीको चपेटामा पर्दै आएका छन् । उनले राजमार्ग छेउका अधिकांश व्यक्ति धुलो र हिलोले हैरान छन् । तर, राज्यले समयमै निर्माण सक्न यो कम्पनीलाई सक्रिय बनाउन नसकेको साहको गुनासो छ ।

झन्डै पाँच वर्षदेखि सडक विस्तारको काम भइरहेको छ । तर, अहिलेसम्म पूरा भएको छैन । धूलो र हिलो झेल्नु हाम्रो नियति जस्तै बनेको छ । यो कम्पनीको मनोमानीमा सरकारको मौन समर्थन रहेको उनको बुझाई छ ।

साह जस्तै धुलो र हिलोले हैरान भएका छन् लहानका अर्का व्यापारी मनोज भगत  । भगतका  अनुसार घरबाट पसल आएर फर्किदा ननुहाई हुँदैन । शरीरभरि धुलोले ढाकिन्छ उनले भने,‘राती घर फर्किदा नुहाएर लुगा फेर्नुपर्छ । राती अनिवार्य नुहाउन र कपडा धुनुपर्ने बाध्यता हुन्छ । शरीरको बाहिरी भाग त नुहाएर पखालिन्छ तर, श्वासमार्फत शरीरभित्र पस्ने धुलोलाई कसरी सफा पार्नु ? यसले श्वासप्रश्वासमा गम्भीर असर पारिरहेको थाहा हुँदाहुँदै हामी निरीह बनेका छौँ।

उनका अनुसार ठेकेदारले विगत दुई वर्षसम्म संरचना भत्काएर काम नगरी बसेका थिए । जसका कारण यस भेगका हजारौँ मानिस स्वास्थ्य जोखिम मोलेर रोजगार गर्न बाध्य छन् ।

समयमै काम सम्पन्न नगरेको निर्माण कम्पनीलाई सरकारले दुई पटक म्याद थपिदिएको छ । २८ अक्टोबर २०२३ मा १४ महिना र त्यसपछि १२ महिनाको म्याद थपिएर अब ३१ डिसेम्बर २०२५ भित्र कम्पनीले निर्माणको काम सक्नुपर्ने पछिल्लो सम्झौता छ । तर, थपिएको म्याद सक्न चार महिना बाँकी रहँदा काम भने आधा मात्र सम्पन्न भएको छ । 

कञ्चनपुर कमला सडक योजनाले पूर्व र पश्चिम गरी दुई खण्डमा विभाजन गरेर काम गरिरहेको छ । पूर्वी सप्तरी कञ्चनपुरदेखि कुशहासम्म ३९.४२ किलोमिटर र पश्चिमी कुशहादेखि कमलासम्म ४७.४१ किलोमिटर । जस अन्तर्गत पूर्वी खण्डमा ५४ प्रतिशत प्रगति भएको आयोजना कार्यालयले जनाएको छ ।

पूर्वी कञ्चनपुरदेखि कुशहा योजनाका इन्जिनियर राजीवकुमार झाका अनुसार कञ्चनपुरदेखि कुशहासम्म ३९.४२ किलोमिटरमा अहिलेसम्म भौतिक प्रगति ५४ प्रतिशत छ भने भुक्तानी ४५.७२ प्रतिशत छ ।

३९.४२ किलोमिटरमध्ये कालोपत्रको काम भने एकतर्फी १८ किलोमिटर मात्र भएको छ । दुईतर्फी कालोपत्रको काम खासै हुन सकेको छैन । इन्जिनियर झाका अनुसार पूर्वी खण्डमा २९ वटा पुल बनाउनु पर्नेमा एकतर्फी दुई लेनको सबैको फाउन्डेसन र सबस्ट्रक्चरको काम सम्पन्न भइसकेको छ । २९ मध्ये १६ वटा पुल सुपरस्ट्रक्चरको काम सम्पन्न भएको इन्जिनियर झाको भनाइ छ । तर, फिनिसिङ बाँकी रहेकाले सञ्चालन हुन बाँकी छ । त्यस्तै १ सय १४ वटै कलभर्ट निर्माणको काम दुईतर्फी नै सम्पन्न भइसकेको उनको भनाई छ । इन्जिनियर झा विगत दुई वर्षमा ठेकेदार विभिन्न कारण काम सुस्त गतिमा गरेको स्विकार्छन् ।

यस आयोजनको पश्चिमी भाग कुशहादेखि कमलासम्म ४७.४१ किलोमिटर चार लेन सडक विस्तारमा हालसम्म ६०.३१ प्रतिशत भौतिक प्रगति रहेको आयोजना कार्यालयले जनाएको छ । पश्चिमी योजनाका सूचना अधिकारी इन्जिनियर सरोज कोइरालाका अनुसार ४७.४१ किलोमिटरमध्ये दक्षिणतर्फको ३१.९ र उत्तरतर्फको २५.९ किलोमिटरमा कालोपत्र भइसकेको छ ।

कालोपत्र अब १६ किलोमिटर मात्र बाँकी छ । दक्षिणतर्फ १६ र उत्तरतर्फ २२ किलोमिटर कालोपत्र गरेपछि कालोपत्रको काम सम्पन्न हुने उनले बताए ।

बजार क्षेत्र लहान, गोलबजार, मिर्चैया, बन्दीपुर क्षेत्रमा कालोपत्र काम बाँकी रहेको उनले बताए । लहानमा ओभर पासका लागि सहिद स्तम्भ व्यवस्थापन, धाराको पाइप स्थानान्तरण, गोलबजार र बन्दीपुरमा बिजुलीको पोल नहटाउँदा काममा समस्या भइरहेको सूचना अधिकारी कोइराला बताउँछन् । दुईतर्फी रूपमै सबै १ सय १२ वटा कल्भर्ट बनिसकेको उनले बताए । जसमा भुक्तानी ४८.६९ प्रतिशत भइसकेको छ ।

उनका अनुसार यस खण्डमा जम्मा एकतर्फी २५ वटा पुल बनाउनु पर्नेमा १९ वटा ढलान भइसकेको छ । लहान र मिर्चैयामा २ वटा ओभरपास निर्माणको काम बाँकी छ ।

विगतमा कम्पनीले कामको गति सुस्त देखिएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस कम्पनीलाई सचेत गराएको थियो । त्यसपछि कम्पनीले कामलाई तीव्र पारेको थियो। तर, फेरी काममा ढिला भएको छ।

कमला कञ्चनपुर सडक पश्चिमी योजना प्रमुख उज्वल श्रेष्ठका अनुसार काम सुस्त भएको भनेर भौतिक मन्त्रालयले सचेत गराएपछि एक पटक अझै म्याद थपेर कामलाई गति दिनुपर्ने सहमति भएको छ । भएन भने ठेक्का तोड्ने कुरा पनि भएको उनले बताए । यस पटक थपिएको म्यादभित्र काम सम्पन्न गर्ने गरी कम्पनीलाई काममा गति दिन भनेका छौँ श्रेष्ठले नागरिकसँग भने, ‘ सबै वातावरण मिल्यो भने डिसेम्बरसम्म काम सकिनेमा आशावादी छौँ ।’

प्रकाशित: ५ असार २०८२ १४:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App