२५ पुस २०८२ शुक्रबार
image/svg+xml
समाज

कोहलपुर चौराहाः चुलो बाल्ने चौबाटो

सामान्य परिभाषामा चौराहा भन्नाले सडकहरू जुध्ने स्थान बुझिन्छ । चारैतिर बाटो लाग्ने ठाउँ, जहाँ मानिसहरू आउजाउ गर्छन् । तर, कोहलपुर चौराहाजस्ता ठाउँहरूको अर्थ अब केवल सडक मिल्ने स्थलमा मात्रै सीमित छैन । यो अब जीवन, जीविकोपार्जन र अवसरको केन्द्र बनेको छ । कोहलपुर चौराहा अहिले दर्जनौँ व्यक्तिको दैनिक जीविकोपार्जनसँग जोडिएको छ । सडक किनारामा झोला तथा प्लास्टिकमा राखेर फलफूल, पानी बिक्री गर्ने व्यवसायीदेखि लिएर यातायात व्यवसायमा संलग्न चालक–सहचालकसम्म चौराहामा आधारित छन् ।

विगतमा घरभित्र सीमित महिलाहरू अहिले चौराहाको पेटीमा व्यवसाय गरिरहेका छन्, जसले आत्मनिर्भर जीवनको बाटो देखाएको छ ।

चौराहा सधैं भिडभाड हुने ठाउँ हो । यही भिडभाडले बजार सिर्जना गर्छ, जसबाट विभिन्न प्रकारका व्यवसायहरू फस्टाउँछन् । यही चौराहामा हरेक दिन हजारौँको कारोबार हुन्छ । फलफूल, पानी जुत्ता सिलाउनेजस्ता सेवामूलक व्यवसायले चौराहालाई साना व्यवसायको हब बनाएका छन् ।

बिहान ५ बजे घडीले घन्टी बजाउँछ । तर केला शाही त्यसअघि नै उठिसकेकी हुन्छिन् । झोलाभरि फलफूल राखेर उनी कोहलपुर चौराहातिर लम्किन्छिन् । उनीसँगै सहरको अर्को कुनामा २८ वर्षीया निर्मला शाही पनि झोलामा फलफूलको थैली बोकेर हिँड्छिन् । कोही स्याउ बेच्न जान्छन्, कोही आँप केही भने पानी । कोहलपुर चौराहा उनीहरूका लागि कुनै सामान्य सडक पार गर्ने ठाउँ होइन, त्यो जीवन बाँच्ने आधार बनेर उभिएको छ ।

निर्मला शाही (२८) जुम्ला सिँजाकी हुन् । उनी यही पुस महिनामा कोहलपुर झरिन् । तीन छोराछोरीलाई पढाउन । छोराछोरीको भविष्यको चिन्ताले जुम्लाबाट पसिना बगाएको जीवनबाट कोहलपुर ल्यायो । ‘गाउँमा घर चल्यो, तर छोरी पढेनन् । यहाँ आएर कमाइसँगै छोराछोरीको पढाइ राम्रो भएको छ,’ निर्मला भन्छिन् । उनी अहिले चौराहामा हरेक बिहान फलफूलको झोला बोकेर निस्किन्छिन् । कहिले आँप, स्याउ, आलुबखडा हरेक दिन फरक वस्तु। हरेक वस्तुमा एउटै उद्देश्य, छोराछोरीहरूलाई राम्रो पढाइ, राम्रो जीवन ।

निर्मला मात्र होइनन्, बिमला रावत र बिजु बुढा पनि त्यही चौराहामा भेटिन्छन् । जुम्लाबाट बिमला रावत पहिले गृहिणी थिइन् । अहिले सिजन अनुसार फलफूल बेच्ने गर्छिन् । ‘पहिले बिहानैदेखि गृहिणी गर्नुपथ्र्याे,’ उनले भनिन्, ‘अहिले चौराहा गए भोकै फर्कनु पर्दैन ।’ यही चक्र दिनहुँ दोहोरिन्छ । न कार्यालयको कुर्सी, न घरको आराम । तर आत्मसम्मानले भरिएको श्रमको संसार ।

कोहलपुर चौराहा बाँके जिल्लाको व्यापारिक केन्द्र मात्रै होइन, श्रमिकहरूको आत्मनिर्भरता हासिल गर्ने थलो बनेको छ । भारतबाट फर्किएका, पहाडबाट झरेका, महिलाहरू, एकल महिला, एकल—सबैका लागि यो ठाउँ नयाँ जीवनको ढोका बनेको छ ।

निर्मला सम्झिन्छिन्, ‘पहिले २० रुपैयाँ नहुने दिन पनि आउँथ्यो । सामान्य खर्च पनि श्रीमान्बाट माग्नुपर्ने अवस्था थियो ।’ तर, अहिले अवस्था बदलिएको छ । श्रीमान्सँगै उनी पनि कमाउँछिन् । दैनिकरुपमा आउने सानातिना समस्या आफैँ सुल्झाउँछिन् । दैनिक एक हजारदेखि एक हजार पाँच सयसम्म आम्दानी हुन्छ । अब आम्दानीले उनको जीवनमा मुस्कान छाएको छ । छोराछोरी निजी विद्यालयमा पढ्छन्, घरमा खाना पुग्छ, स्वास्थ्य उपचार सहज छ। जीवनसाथीको भरमा होइन, आफ्नो श्रमको भरमा बाँच्न सक्ने आत्मबल पनि छ ।

कोहलपुर चौराहा साँच्चिकै ‘चौराहा’ बनेको छ । जहाँ श्रमले आत्मनिर्भरता भेट्छ, सङ्घर्षले सम्मान पाउँछ, र सहरले आफ्ना आधार बुझ्न थाल्छ । कोहलपुर चौराहबाट पूर्व–पश्चिम, उत्तर–दक्षिण चारैतिर जान सकिन्छ । बरपीपलका रूख छन् । सयौँ मान्छे यही छहारी लाग्छन् । पूर्व–पश्चिम, उत्तर–दक्षिणबाट आउने जाने व्यक्तिको आवतजावत उस्तै हुन्छ । यहाँ झोलामा व्यापार गर्नेहरू ग्राहक सहजै पाउँछन् । प्रचण्ड गर्मीसँगै पानीको राम्रो व्यापार गरिरहेका छन् । यो पेसाले उनीहरुलाई लज्जा बोध होइन, आत्मनिर्भर र आत्मविश्वाससँगै आत्मसम्मान दिलाएको छ ।

प्रकाशित: ४ असार २०८२ १६:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App