संगीतकार, साहित्यकार तथा गायक गणेश रसिकको निधन नेपाली सिर्जना क्षेत्रका लागि दर्बिलो खम्बाको अवसान भएको इलामका कलाकर्मीले बताएका छन्। उनको स्मरणमा आयोजित श्रद्धाञ्जली सभाका व्यक्तित्वले रसिकजस्तो बहुमुखी प्रतिभावको धनी बिरलैमात्र हुनेगरेको पनि बताए।
रसिकले नै २०६४ सालमा इलामको रम्फोकमा स्थापना गरेको रेडियो फिक्कल र गणेश रसिक फाउन्डेसनले फिक्कलमा आयोजना गरेको सभामा इलामबासीले उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
कार्यक्रममा साहित्यकार, कलाकार, जनप्रतिनिधिलगायत सयौंले रसिक एक अब्बल साहित्यकार, संगीतकार र गायक भएको चर्चा गरे। उनीहरूले रसिकको निधन नेपाली साहित्य र कला क्षेत्रको अपुरणीय क्षति भएको पनि बताए।
त्यस अवसरमा सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राई, संविधानसभा सदस्य सूर्यबाला राई, सूर्योदय नगरपालिका उपप्रमुख दुर्गाकुमार बराल, जिल्ला समन्वय समिति उपप्रमुख चित्रकला बराइली, कवि विमल वैद्य, कुलप्रसाद ढकाल, पत्रकार केदार शर्मा, चलचित्र निर्देशक कैलाश राई, उद्योगी उदय चापागाईं, संगीतकार कोमल निरौला, कवि भुवनराज ढुंगाना, रसिककी छोरी निर्जा रसिक राईलगायतले श्रद्धाञ्जली अर्पण गरेका थिए।
श्रद्धाञ्जलीसभामा छिमेकी देश भारतको सीमावर्ती क्षेत्रका साहित्य र संगीतकारसमेत सहभागी भए। रसिक साहित्य र संगीत क्षेत्रका ‘रोलमोडल’ झैं भएको भन्दै उनीनिकटहरूले आउँदा दिनमा रसिकले देखाएको बाटोमा अघि बढ्नुपर्ने पनि बताए। रसिक आफ्ना सिर्जनामार्फत् सधैं अमर रहने भन्दै वक्ताले उनका अधुरा सपना पूरा गर्न सबैले हातेमालो गर्नुपर्ने पनि जनाए।
कलाकारहरूले रसिकले सिर्जना गरेका गीत प्रस्तुत गरे। कलाकारहरू भूपेन्द्र राई, पूजन प्रधान, वृस प्रधान, रगुन गुरुङ, कमल अर्याल, गायत्रा ओली, कृतिका राई, किरण योञ्जन, आश्विन प्रधान, राजेश चाम्लिङ, अर्पणा राई ,जय राई, लेखु मुखियालगायतले रसिकलाई उनकै गीतमार्फत् श्रद्धाञ्जली अर्पण गरेका थिए। रेडियोका समाचार प्रमुख राजकुमार दाहालले रसिकको अभिभावकत्वमार्फत् आफूहरूले धेरै कुरा सिक्न पाएको सुनाए।
क्यान्सरबाट पीडित रसिकको गत जेठ १८ मा ललितपुरको हरिसिद्धि क्यान्सर अस्पतालमा उपचारक्रममा निधन भएको थियो। भोजपुरको छिनामखुमा २००४ असोज ४ जन्मिएका रसिकले कर्मथलो इलामलाई बनाएका थिए।
रसिकले जीवनमा धेरै दुःखका घुम्ती पार गरेका थिए। पत्रिकाबाट जागिरको पहिलो खुड्किलो टेकेका उनी २०२० सालमा राजविराज गाउँ पञ्चायतमा टाइपिस्ट र २०५२ सालमा साझा प्रकाशनको अध्यक्ष भए।
‘मलाई प्यारो लाग्छ, मलाई राम्रो लाग्छ, लहरा पहरा छहराको देश’ लगायत चर्चित राष्ट्रिय गीतदेखि ‘म त त्यस्तो होइन नि पिरतीले जोगी बनायो’, ‘धेरै सम्झे धेरै हुन्छ’, ‘मसँग एउटा तारा छ मायाको’ जस्ता कर्णप्रिय गीत गाएका छन्। सुरुमा जनजागरण र चेतनाका गीत गाएका रसिकले पछि लोकगीत र सुगम संगीत अंगालेका हुन्। रसिकले साहित्यकार पारिजातसँग भेट भएपछि राल्फा गठन गरे।
पछि त्यसले आन्दोलनको रूप लिएपछि साथीहरूसँग मनमुटाव भयो। हिरण्य भोजपुरेसँग मिलेर लेकाली समूह बनाए। ‘हट्ने होइन डटी लड्ने नेपालीको बानी हुन्छ’, ‘रातो भाले क्वाँय क्वाँय’, ‘घरबेटी नानी आँगनीमा देऊ न मलाई बास’, ‘ओ याङ्जी नाना’ गीतले पनि रसिकलाई चिनाए।
रेडियो नेपालले २०२३ सालमा आयोजना गरेको लोकगीत प्रतियोगितामा मेची अञ्चलबाट छानिएर रेडियो नेपालमा प्रवेश गरेका उनी कुनैबेला मञ्जुलका सहयोद्धा थिए।
जीवनका सबै जागिरबाट विरक्तिएर तेह्रथुम, धनकुटा हुँदै इलाम आइपुगेका रसिक यहाँ बसेर साहित्य रचनामा लागे। ‘दशगजामा उभिएर’ ‘आकाशगंगाको ओतमुनि’ ‘गणेश रसिकका गीतहरू’ ‘जब सिस्नोहरू टेक्दै हिँडें’ ‘स्वाधीनताको पीडा’, ‘क्षितिजलाई छुन खोज्दा’, ‘सारंगीभित्र बिलाउँदै गएको गीत’ जस्ता उनका कृति प्रकाशित छन्।
‘दशगजामा उभिएर’ले २०६३ सालको पद्मश्री पुरस्कार प्राप्त गरेको थियो। उनले गोर्खा दक्षिण बाहु, रत्नश्री स्वर्णपदक, वीरेन्द्र ऐश्वर्य पदक, छिन्नलता गीत पुरस्कार, पद्मश्री साहित्य सम्मान, राष्ट्रिय कलाश्री पुरस्कार, नारायणगोपाल संगीत पुरस्कार, नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कारलगायत दर्जनौं पुरस्कार र पदक पाएका थिए।
कुनैबेला दलीय राजनीतिमा रहेरै काम गर्ने मनसाय भएपनि त्यतिबेला राजनीतिका नाममा बढेको अवैध क्रियाकलाप, नातावाद र भ्रष्टाचारका कारण उनी यसबाट टाढा हुन चाहन्थे, राजनीति त्यागिदिए।
रसिक पाँच वर्षको हुँदै आमा रत्नमाया क्यान्सरले परलोक भइन्। भाइ सम्मीको २०४० सालमा र अर्का भाइ श्यामको २०५१ सालमा निधन भयो।
नेपाल प्रहरीका इन्स्पेक्टर अर्का भाइ प्रजुकुमार २०६० सालमा इलामकै पशुपतिनगर भिडन्तमा मारिए। ३२ वर्षे छोरा निमेशको ०६७ मंसिरमा इलाम रम्फोकमा सुतिरहेकै ठाउँमा निधन भयो। पत्नी नीरा शेरचनले २०७८ सालमा कोभिड संक्रमणका कारण संसार छाडेकी थिइन्।
प्रकाशित: ३ असार २०८२ २२:०६ मंगलबार