१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

रौतहटको राजपुर बम काण्डमा पुत्र गुमाएका श्रीनारायण सिंह राजपूतले न्यायको लडाइँलाई काठमाडौंस्थित न्याय प्रणालीको सर्वोच्च निकायसम्म ल्याइपुऱ्याएका छन्।

उच्च अदालतबाट प्रतिवादीहरूलाई सफाइ दिने न्यायाधीशहरूमाथि नै छानबिनको माग गर्दै उनले न्याय परिषद्‌मा उजुरी दर्ता गराएका हुन्।

जिल्ला अदालतले दोषी ठहर गरेका व्यक्तिलाई उच्च अदालतले सफाइ दिएपछि निराश बनेका ८४ वर्षीय उनी ‘न्याय नमरेको’ प्रमाणित गर्न एक्लै काठमाडौंमा सङ्घर्ष गरिरहेका छन्।

नागरिकन्यूजसँग कुराकानी गर्दै उनले भने - ‘सास रहुन्जेलसम्म न्यायको लागि लडिरहन्छु, जिन्दगी जहिलेसम्म छ, त्यहिलेसम्म यो लडाइँ जारी रहन्छ।’

रौतहट जिल्ला अदालतले २०८१ वैशाख ३ गते मुख्य अभियुक्त मो. अफताब आलमलाई जन्मकैदको फैसला सुनाएको थियो। तर, उक्त फैसलाउपर परेको पुनरावेदनमा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश द्वय खुशी प्रसाद थारु र अर्जुन महर्जनको इजलासले आलम लगायतलाई सफाइ दिएको थियो।

श्रीनारायणले न्याय परिषद्‌मा दिएको निवेदनअनुसार, करिब १२ सय पृष्ठको मिसिल र प्रमाणहरू भएको गम्भीर प्रकृतिको मुद्दामा केवल ४ घण्टाको सुनुवाइपछि ‘घटना नै नघटेको’ भन्ने आधारमा फैसला गर्नु बदनियतपूर्ण छ।

उनले निवेदनमा प्रत्यक्षदर्शीको बयान, भौतिक प्रमाण र सर्वोच्च अदालतकै विगतका आदेशहरूलाई पूर्ण रूपमा नजरअन्दाज गरिएको आरोप लगाएका छन्।

‘अदालत चुके, भगवान् छन्’

भौतिक अदालतप्रतिको क्षीण हुँदै गएको विश्वास र दैवी न्यायप्रतिको अन्तिम आशा रहेको उनी सुनाउँछन्। ‘आसा त राखेको छु, तर अदालतले न्याय नदिए पनि भगवान्‌ले त न्याय पक्कै दिनुहुन्छ।’ उनी भन्छन्।

काठमाडौंमा रहँदा उनले महान्यायाधिवक्ता लगायतका सरोकारवाला निकायमा पुगेर आफूमाथि भएको अन्यायबारे जानकारी गराइसकेका छन्। ‘मैले न्याय परिषद्‌का सचिवसँग मलाई अन्याय भयो हजुर भने, उहाँहरुले हेरौला भन्नुभएको छ।’

 

यो पनि पढ्नुहोस्

राजपुर बम काण्ड: उच्चले आलमलाई सफाइ दिएपछि न्याय खोज्दै पीडितका बुवा काठमाडौंमा

 

प्रकाशित: ३ असार २०८२ १५:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App