ललितपुरस्थित ग्वार्को फ्लाई ओभर (ओभर पास) सञ्चालनगर्ने तयारी गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले असार ६गते दिउँसो ओभर पासको उद्घाटन गर्ने कार्यक्रम भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तय गरेको जनाइएको छ।
उद्घाटन गरे लगत्तै सोहीदिनबाट ओभर पास सञ्चालन हुने भएको छ। सडक विभागमा तहतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक दीपबाराहीका अनुसार ठेकेदार कम्पनीले केन्द्रलाई ओभर पासको सबै काम सकिएको औपचारिक जानकारी गराउँदै आइतबार पत्र पठाएको छ। केन्द्रले हालसम्म ठेकेदार कम्पनीलाई कुल रकम (१७ करोड ६ लाख) को ४६ प्रतिशत रकम भुक्तानी गरिसकेको छ। बाँकी रकम कागज पत्र हेरेर केही दिनमा भुक्तानी गर्ने विभागको तयारी छ।
यस आयोजनामा ठेकेदार कम्पनीले आफूलाई ठूलो घाटा भएको बताउने गरेको विभागका एक कर्मचारीले बताए। ‘ठेकेदारले १७ करोडमा सम्झौता गर्यौं तर ५० करोड रुपैयाँ खर्च भयो भन्ने गरेका छन्’, ती कर्मचारीले भने। यद्यपि ठेकेदार कम्पनीका प्रतिनिधिले यस विषयमा बोल्न चाहेनन्।
केन्द्रका निर्देशक दीपबाराहीका अनुसार सोमबार साँझसम्म ओभर पासको काम ९८ प्रतिशत नाघिसकेको छ। अब ट्राफिक लाइट जडान र केही स्थानमा रङरोगनको काम मात्र बाँकी छ। ‘त्यो काम पनि असार ५ गतेसम्म सकिन्छ’, उनले भने। ग्वार्कोओभर पास नेपालकै पहिलो प्रयोग हो। यसअघि चक्रपथकै कलंकीमा अन्डरपासको प्रयोग भइसकेको छ।
नेपालको पहिलो प्रयोग भएकाले यस आयोजनामा काम गर्न केही अलमलभएको विभागका उच्च कर्मचारी बताउँछन्। ठेकेदार कम्पनी आशिष समानान्तर रेलिगेट कम्पनीले हालसम्म ओभर पासमा गाडी गुड्न मिल्ने बनाउन ट्राफिक लाइट, रङरोगन, सडक संकेत, तथा पानीको निकास लगायतका सबै काम करिब–करिब पूरा गरिसकेको छ।
गत पुस ९ गतेदेखि उक्त कम्पनीले दैनिक ८५ हजार रूपैयाँ हर्जना तिरेर काम गरिरहेको छ। गत पुस ८ गतेसम्म काम पूरा गर्न उक्तकम्पनीलाई अन्तिम म्याद दिइएको थियो। अन्तिम म्यादसम्म पनि कम्पनीले काम सम्पन्नन गरेपछि दैनिक ०.०५ प्रतिशतको दरले हर्जाना तिरिरहेको छ। बढीमा दुई सय दिनसम्म हर्जाना तिरेर भए पनि काम सम्पन्न गर्नैपर्छ। त्यसपछि पनि काम नभए सम्झौता रद्द गर्ने व्यवस्था कानुनमा गरिएको जनाइएको छ।
दुई सय दिनमा ठेकेदार कम्पनीले १० प्रतिशतसम्म हर्जाना तिरिसक्नु पर्नेछ। दैनिक हर्जाना तिर्न थालेपछि ठेकेदार कम्पनीले काम दु्रतगतिमा अघि बढाएको आयोजनाका कर्मचारीको बुझाइ छ। विभागले ठेकेदार कम्पनीलाई दैनिक ८५ हजार हर्जाना लगाइरहेका बेला सरकारले सार्वजनिक खरिद नियमावलीको १४ औं संशोधन गरी निर्माण काम पूरा नभएका आयोजनालाई म्याद थप गर्ने बाटो खुला गरेको छ।
तेह्रौ संशोधनमा आयोजनाको म्याद अन्तिम एक पटकको लागि थप गर्दै सो म्यादभित्र पनि काम पूरा नभए दैनिक हर्जाना लगाएर बढीमा दुई सय दिनसम्म काम गर्न दिने व्यवस्था गरिएको थियो। १४औं संशोधनपछि भने ठेकेदार कम्पनीले म्याद थपको लागि निवेदन नदिएको बाराहीले बताए। ‘१४ औं संशोधनपछि म्याद थपको लागि ठेकेदार कम्पनीले निवेदन दिएको छैन, दैनिक हर्जानामै काम गरिरहेको छ’, बाराहीले भने।
ग्वार्को ओभर पास बनाउन २०७८ फागुन १२ गते ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता गरिएको थियो। १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा यसको ठेक्का सम्झौता गरिएको थियो। सुरुमा ठेक्का सम्झौता हुँदा २०८० फागुन ११ गतेभित्र काम सम्पन्न गर्ने गरी म्याद तोकिएको थियो।
विभिन्न कारण देखाउँदै ठेकेदार कम्पनीले समयमा काम गर्न सकेन। त्यसपछि यस आयोजनाको म्याद थप गरियो। दोस्रो पटक म्याद थप गरी २०८१ पुस ८ गते काम सक्ने अन्तिम म्याद तोकियो। दोस्रो पटक पनि थप गरिएको म्यादमा पनि काम हुन सकेन। दोस्रो पटक थपिएको म्याद अन्तिम पटकका लागि थियो।
त्यसैले दोस्रो पटक थपिएको म्यादभित्र पनि काम हुन नसकेपछि ठेकेदार कम्पनीले दैनिक हर्जाना तिरेर काम गरिरहेको छ। काम भइरहेका बेला सात दोबाटोतर्फ जगबाटै प्यानलवाल भत्काएर फेरि काम गर्नुपरेको थियो। करिब ४० मिटर जति ठाउँमा प्यानलवाल भत्काउनु परेको आयोजनाको भनाइ छ। आयोजनाका अनुसार प्यानल इन्टरलिंक हुँदा बिग्रिएको पर्खाल पूरै भत्काउनु परेको थियो।
ठेकेदार कम्पनीले प्यानलवाल भत्काउँदा पहिले राखेको माटो हटाएर त्यस ठाउँमा पुन: माटो भरेको थियो। गुणस्तर केन्द्रका इन्जिनियरहरूले सात दोबाटोतर्फ प्यानलवालमा ग्याप देखेपछि ४० मिटर प्यानलवाल भत्काउन लगाएका थिए। ओभर पासको कोटेश्वरतर्फ तीन सय २० मिटर तथा सात दोबाटोतर्फ भने एक सय ८० मिटर बाटोमा प्यानल जडान भइसकेको छ। यस ओभर पासमा ३५ मिटर लामो चार लेनको पुल निर्माण भइसकेको छ।
प्रकाशित: ३ असार २०८२ १०:०३ मंगलबार