उच्च अदालत पाटनले सञ्चारकर्मी दिलभूषण पाठकलाई धरपकड अर्थात् पक्राउ नगर्न सोमबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश ऋषि राजभण्डारीको एकल इजलासले आगामी बिहीबारका लागि दुवै पक्षलाई छलफलमा बोलाउँदै हालका लागि पक्राउ नगर्न आदेश जारी गरेको हो। पाठकलाई दिएको आदेश अन्तिम भने होइन।
बिहीबार अर्थात् असार ५ मा दुवै पक्षको बहस सुनिसकेपछि यही अल्पकालीन आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने निर्णय हुनेछ। विद्युतीय कारोबार (साइबर अपराध) मुद्दामा पक्राउ गरी अनुसन्धान गर्न नेपाल प्रहरीको साइबर ब्युरोले काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएको थियो। जिल्ला अदालतले दिएको अनुमतिविरुद्ध पाठक उच्च अदालतमा निवेदन दर्ता गराएका थिए। पाठकको मागबमोजिम उच्च अदालतले तत्काल उनलाई पक्राउ नगर्न आदेश गरेको हो।
‘दुवै पक्षलाई छलफलमा सहभागी गराई दुवैका कुराहरू सुनी अन्तरिम आदेश जारी गर्नुपर्ने वा नपर्ने सम्बन्धमा आदेश गर्न उपयुक्त देखिँदा असार ५ गतेलाई छलफलको मिति तोकी त्यस अवधिसम्म निवेदनको गम्भीरतालाई विचार गरी दिलभूषण पाठकलाई कानुनबमोजिम बाहेक धरपकड नगर्नू–नगराउनू भनी अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ,’ आदेशमा भनिएको छ।
काठमाडौंको हिल्टन होटलसम्बन्धी समाचार सामग्री प्रसारण गरेका कारण सञ्चारकर्मी पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणाका छोरा जयवीरलाई हिल्टन होटलको सेयर प्रकरणमा जोडेको समाचार उनले युट्युबमार्फत प्रसारण गरेका थिए। आफ्नो बदनाम गर्न खोजिएको भन्दै जयवीरले पाठकविरुद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका थिए।
प्रकाशित: ३ असार २०८२ ०७:२५ मंगलबार





