सिंगापुरमा १५ वर्षीय विद्यार्थीसँग दुर्व्यवहार गरेर त्यसको भिडियो बनाएको अभियोगमा पूर्व सेना क्याप्टेनलाई १७ महिनाको जेल सजाय सुनाइएको छ।
४१ वर्षीय चाउ चिया जुनलाई मंगलबार अदालतले सजाय सुनाएको हो। उनले नाबालिगसँग सम्बन्धित दुर्व्यवहार र बाल दुर्व्यवहारसम्बन्धी सामग्री उत्पादनका तीन आरोप स्वीकार गरेका थिए।
अदालतका अनुसार सन् २०२४ मा घटना हुँदा चाउ सिंगापुर सेनामा क्याप्टेन थिए। उनका पूर्व पार्टनर २६ वर्षीय ओवेन तोह वेई सोङ नौसेनामा कुकका रूपमा कार्यरत थिए। तोहले अनलाइनमार्फत १५ वर्षीय विद्यार्थीसँग परिचय गरेर चाउसँग भेट गराएका थिए। त्यसबेला चाउको उमेर ३२ वर्ष रहेको भन्दै विद्यार्थीलाई गलत जानकारी दिइएको थियो।
पुङ्गगोलस्थित पार्किङस्थलमा भएको भेटका क्रममा चाउले विद्यार्थीसँगको अनुचित क्रियाकलापको भिडियो खिचेका थिए। त्यसपछि पनि उनले विद्यार्थीसँग एक्लै भेटेर थप भिडियो बनाएका थिए। उनले ती भिडियो आफ्नो ‘व्यक्तिगत संग्रह’ का लागि राखेको उनले बताए।
विद्यार्थीको व्यवहार र चाउबाट पाएका उपहारबारे परिवारका सदस्यहरू चिन्तित भएपछि घटनाबारे प्रहरीमा उजुरी परेको थियो। यस घटनामा संलग्न तोहलाई पनि यसअघि १२ महिनाको जेल सजाय सुनाइएको थियो।
सिंगापुरको रक्षा मन्त्रालयका अनुसार चाउ पक्राउ परेपछि सैनिक जिम्मेवारीबाट निलम्बित भएका थिए। उनी पछि नियमित सैनिक सेवाबाट बाहिरिएका छन् र अहिले सेनामा कार्यरत छैनन्।
प्रकाशित: ३ कार्तिक २०८३ १८:०२ मंगलबार



-600x400.jpg)

