काठमाडौंको फर्पिङमा अवैध पटका ल्याउँदै गरेको आरोपमा प्रहरीले एक चालकलाई पक्राउ गरेको छ।
उनको गाडीबाट विभिन्न प्रकारका २२ किसिमका पटका बरामद भएको प्रहरीले जनाएको छ। सोमबार राति करिब ९:४० बजे दक्षिणकाली नगरपालिका-५, फर्पिङस्थित चेकपोस्टमा वीरगन्जबाट काठमाडौं आउँदै गरेको ईभी गाडी जाँच गर्ने क्रममा पटका फेला परेको हो।
बा.प्र. ०६-००१ ज ०२२० नम्बरको गाडीमा लुकाइछिपाइ पटका ल्याइएको अवस्थामा चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा काठमाडौंको चन्द्रागिरि नगरपालिका-४ का २८ वर्षीय प्रशान्त थापा छन्।
बरामद गरिएका पटाकामा कलर काटी, गोल्डेन कोर, ह्याप्पी बर्थडे, पेन्टा स्काई, सुपर फ्लावर, बाहुबली, रकर बम, ५५५ बम र किङ कोब्रालगायतका प्रकार छन्। प्रहरीले विभिन्न प्रकारका गरी कुल ६० प्याकेट पटका बरामद गरेको जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका चालक र बरामद पटाकाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: ३ कार्तिक २०८३ १७:४५ मंगलबार





