बाढीपहिरोको मौसम सुरु हँुदै गर्दा मूलकोटवासी झस्किन थालेका छन् । गत असोजको बाढीले प्रभावित मूलकोटवासी बर्खा लागेसँगै त्रसित बनेका हुन् । पुरानै लयमा फर्कंदै गरेको सिन्धुलीको सुनकोसी गाउँपालिका–५ मुलकोटका स्थानीय फेरि पोहोरजस्तै डुबान हुने हो कि भनेर चिन्तामा परेका छन् ।
गत असोजमा सुनकोसी नदीमा आएको बाढीले मूलकोट पूर्ण रूपमा पुरिएको थियो । बाढीले पुरिएको महिनौंपछि मूलकोटका होटल रिसोर्टहरू सञ्चालनमा आएका थिए । त्यतिबेला पुरिएका कतिपय होटल अझै सञ्चालनमा आएका छैनन् । केही होटल पुनः करोडौं लगानी गरेर व्यवसायीले सञ्चालनमा ल्याएका छन् । फेरि बर्खा लागेसँगै पुनः क्षति हुने हो कि भन्ने चिन्ता स्थानीयमा देखिएको छ । सुनकोसी नदीमा बाँध नभएका कारण जुनसुकै समयमा बाढी मूलकोट बस्तीमा पस्ने सम्भावना रहेको स्थानीय बताउँछन् । बस्तीको उचित संरक्षण नगरिएको हुँदा मूलकोटका स्थानीयलाई पानी पर्नेबित्तिकै विगतको बाढीले झस्काउने गरेको हो ।
बाढीले पूर्ण रूपमा क्षति गरेको मूलकोटस्थित पशुपति आधारभूत विद्यालय सरकारी तथा गैरसरकारी संघसंस्थाको सहयोगमा सञ्चालनमा आए पनि पुरानै अवस्थामा अझै आउन सकेको छैन । सुनकोसी नदी नजिकै रहेकाले उक्त विद्यालयलाई फेरि पनि बाढीले क्षति पु¥याउने हो कि भन्ने त्रास कायमै छ । विद्यालय सञ्चालन भए पनि पूर्ण रूपमा सुरक्षित महसुस नभएकाले बौद्धिक अपांगता भएका विद्यार्थी अझै विद्यालय नआएको प्रधानध्यापक निर्मलाकुमारी श्रेष्ठले बताइन् । ‘विद्यालय पूर्ण सुरक्षित भएको अनुभूति हामीलाई छैन तर पनि पूर्ण सुरक्षित बनाउन के गर्न सकिन्छ भनेर सरोकारवालासमक्ष छलफल तथा बजेट व्यवस्थापन गर्न अनुरोध गरिरहेका छौं,’ उनले भनिन् ।
गत असोजमा सुनकोसी नदीमा आएको बाढीले सुनकोसी गाँउपालिकास्थित नेपालथोक मूलकोटलगायत क्षेत्र पूर्ण रूपमा प्रभावित बनेको छ । त्यस क्षेत्रका हजारौं बिघा खेतीयोग्य जमिन बगर भएका छन् भने सयौं घर तथा दर्जनौं विद्यालय प्रभावित बनेका थिए । ती विद्यालय सञ्चालनमा आए पनि भौतिक संरचना बनिसकेका छैनन् । निजी घरहरूको पुनर्निर्माण पनि सुरु भएको छैन । बाढीले क्षति पु¥याएका विद्यालयका संरचनाहरू बनाउन बाँकी नै रहेको गाउँपालिकाले जनाएको छ ।
यसपटक वर्षायाममा आइपर्न सक्ने खतरा टार्न आवश्यक तयारी भइरहेको गाउँपालिका अध्यक्ष दीपा बोहोरा दाहालले बताइन् । ‘सम्भावित खतरालाई टार्ने हिसाबले तयारी गरिहेका छौं । गत असोजकै अवस्थामा बाढी आए फेरि ठुलो क्षति गाउँपालिकाले बेहोर्नुपर्छ कि भन्ने डर कायमै छ,’ उनले भनिन् । पालिकाभित्रका रेडक्रस शाखा तथा अन्य सम्बन्धित निकायलाई तयारी अवस्थामा राखिएको जानकारी उनले दिइन् ।
विपद् आउन सक्ने सम्भावनालाई ध्यानमा राखेर जिल्ला विपद् व्यवस्थापन समितिले समेत तयारी तीव्र पारेको छ । विगतमा मनसुनजन्य विपद्बाट सिर्जित सिकाइ र अनुभवलाई ख्याल गरेर यस वर्ष सबै पालिका तथा वडालाई असुरक्षित टोलबस्तीलाई सुरक्षित स्थानमा सार्न अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी लीलाप्रसाद शर्माले जानकारी दिए ।
प्रकाशित: १ असार २०८२ २०:१६ आइतबार