अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतामाथिका अंकुश बन्द गर्न नागरिकहरले अपिल गरेका छन्। आज एक विज्ञप्ति जारी गर्दै केदारभक्त माथेमा, भोजराज पोखरेल, विरेन्द्रप्रसाद मिश्र, विद्याधर मल्लिक, हरि शर्मा, मोहना अन्सारी र चरण प्रसाईले यस्तो अपील गरेका हुन्।
केही समययता राज्य पक्षबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति देखाउँदै आएको असहिष्णु प्रवृत्ति र पछिल्लो समयमा वरिष्ठ पत्रकार दिलभूषण पाठकलगायत अन्य केही व्यक्तिहरूमाथि भएका व्यवहारप्रतिको समाचारमा आफूहरूको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, मानव अधिकारका अधारभूत मान्यता एवं लोकतन्त्रको आधारशिला भएको उनीहरूको भनाइ छ। संघीय लोकतान्त्रिक गाणतन्त्रात्मक शासन व्यवस्थालाई चलायमान, जवाफदेही तथा परिपक्व बनाउन पत्रकारिता क्षेत्रको अहं भूमिका रहेको बताउँदै उनीहरूले भने, 'यसलाई नेपालको संविधानको धारा १७ (२) (क) र धारा १९ले विचार र अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हकलाई प्रत्याभुत गरेको कुरा थप स्पष्ट गरेको कुरा पनि स्मरण गराउन चाहान्छौं।'
'पछिल्लो समयको विकसित घटना क्रममा सार्वजनिक ओहोदामा बसेका व्यक्तिबारे प्रश्न उठ्दा त्यसको उचित छानबिन गर्नुपूर्व नै साइबर अपराधमा मुद्दा लाउने, धरपकडमा जाने, समाचार नै हटाउन लगाउने जस्ता देखिएका प्रवृत्तिले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता मात्र नभएर आमनागरिकको वैयक्तिक स्वतन्त्रताको अभ्यासलाई समेत संकुचित पार्ने, त्रास फैलाउने कार्य हुनुका साथै यसबाट लोकतन्त्रको जगसमेतलाई कमजोर पारी स्वेच्छाचारी शासन शैलीको विकास हुने खतरा बढेको छ,' विज्ञप्तिमा भनिएको छ।
नेपालले मानव अधिकारको विश्वव्यापी घोषणपत्र १९४८ को धारा १९ तथा नागरिक तथा राजनीतिक अधिकार १९६६ को धारा १९ प्रति प्रतिबद्धता जनाएता पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा सरकारले विभिन्न बहानामा अंकुश लगाउँदै आउनुका साथै डर–त्रासको वातावरण समेत श्रृजना गरेको उनीहरूको ठम्याए छ।
उनीहरूले भनेका छन्, 'यस अर्थमा मानव अधिकारका आधारभूत मूल्यमान्यतालाई अक्षुण्ण राख्न तथा लोकतान्त्रिक पद्धतिलाई वास्तविक व्यवहारमा लागू भएको अनुभूति आमनागरिक समेतलाई दिलाउन राज्य थप सहिष्णु बनोस र त्यस्ता सोच, प्रवृत्ति र कार्य बन्द गर्न हामी हार्दिक अपिल गर्दछौं।'
प्रकाशित: १ असार २०८२ १२:३८ आइतबार





