१ श्रावण २०८२ बिहीबार
image/svg+xml
समाज

पतञ्जलिको ‘औषधि-ग्राम’ सपना: दुई दशकसम्म न अस्पताल बन्यो, न गौशाला

काभ्रेको बनेपा नगरपालिका-१४, नासिकास्थानका स्थानीय बासिन्दाले दुई दशकअघि आयुर्वेदिक अस्पताल, औषधि उत्पादन केन्द्र र गाईफार्म स्थापना हुने आशामा बिक्री गरेको जग्गामा कुनै पनि विकास-निर्माण नभएकोमा गहिरो असन्तुष्टि र निराशा व्यक्त गरेका छन्।

उनीहरूले विकासको वाचामा कौडीको भाउमा बेचेको जग्गा हाल नाफा कमाउने उद्देश्यले बेचबिखनको साधन मात्र बनेको भन्दै आक्रोश पोखेका हुन्।

तत्कालीन नासिकास्थान गाउँ विकास समिति-६ का बासिन्दाहरूलाई पतञ्जलि योगपीठले रोजगारी र स्थानीय विकासको बृहत् आश्वासन दिएको थियो।

तर, लामो समय बितिसक्दा पनि वाचाअनुसारका कुनै पनि संरचना निर्माण नहुँदा स्थानीयले आफूहरू ठगिएको महसुस गरेका छन्। उनीहरूको आपत्ति विकास कार्य शून्य हुनु र प्रयोजनविपरीत जग्गाको खरिद-बिक्री हुनुमा केन्द्रित छ।

नागरिककर्मी स्थलगत रिपोर्टिङका लागि पुग्दा बस्तीभन्दा माथिल्लो भेगमा बाख्रा चराइरहेका स्थानीय कृष्णबहादुर लामाले आफ्नो विवशता पोख्दै भने, ‘जुन उद्देश्यका लागि जग्गा किनिएको हो, त्यो काम नगरी नाफाका लागि बेचबिखनको धन्दा चलाइँदा पनि हामीले केही गर्न सकेका छैनौँ।’

पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीले त्यस क्षेत्रमा पटक-पटक गरी कुल ८१५ रोपनी जग्गा अधिग्रहण गरेको थियो। स्थानीयका अनुसार, तत्कालीन समयमा प्रतिरोपनी करिब ५० हजार रुपैयाँका दरले खरिद गरिएको उक्त जग्गामा आजसम्म कुनै विकास नभई केवल किनबेच मात्रै भइरहेको छ।

हाल उक्त ८१५ रोपनीको विशाल क्षेत्रफलमा कुनै मानव बस्ती छैन। अरनिको राजमार्गअन्तर्गत साँगाबाट करिब एक किलोमिटर दक्षिणको यो पहाडी क्षेत्र अहिले घाँस र झाडीले भरिएको हरियालीमा परिणत भएको छ।

यो जग्गा प्रकरण करिब दुई हप्ताअघि विशेष अदालतमा हदबन्दीसम्बन्धी नियम परिवर्तन गराएर सामाजिक र आयुर्वेदिक प्रयोजनका नाममा लिइएको जग्गा करोडौँमा बिक्री गरिएको भन्दै मुद्दा दायर भएपछि पुन: चर्चामा आयो।

आयुर्वेदिक प्रयोजनका लागि खरिद गरिएको यो जग्गा हाल बेचबिखनपछि ११८ जनाभन्दा बढी व्यक्तिको नाममा रहेको बताइएको छ।

बनेपा-१४ का वडाध्यक्ष टुल्कु लामाले पछिल्लो तीन वर्षयता आफ्नो कार्यकालमा उक्त जग्गाको खरिद-बिक्रीका लागि वडा कार्यालयबाट कुनै सिफारिस नभएको जानकारी दिए।

उनी स्थानीय तहको निर्वाचनमा निर्वाचित भएर तीन वर्षदेखि वडाध्यक्षको जिम्मेवारीमा छन्। यसअघिको पाँच वर्षे कार्यकालमा अर्कै व्यक्ति वडाध्यक्ष थिए भने त्यसभन्दा पहिले यो क्षेत्र नासिकास्थान गाउँपालिकाका रूपमा थियो।

अर्का स्थानीय युवा उत्तम केसीका अनुसार, ‘गाउँलेहरूले आफ्नो जीवनस्तरमा सकारात्मक परिवर्तन आउने आशामा जग्गा बिक्री गरेका थिए, तर अहिलेसम्म कुनै प्रगति नहुँदा सबै निराश छन्।’ 

पतञ्जलि योगपीठले ७ सय रोपनी जग्गा आवश्यक रहेको भन्दै २०६४ पुस ९ गते सरकारसमक्ष निवेदन दिएको थियो। तत्कालीन भूमिसम्बन्धी ऐनअनुसार ठूला उद्योगहरूलाई ४०० रोपनीसम्म मात्रै जग्गा राख्न पाउने हदबन्दीको व्यवस्था थियो।

तर, आयुर्वेदजस्तो सामाजिक संस्थाले मागेको भन्दै सरकारका विभिन्न निकायले हदबन्दीको प्रावधानलाई फुकुवा गर्न सहमति जनाए। भूमिसम्बन्धी नियमअनुसार, हदबन्दीमा छुट लिएर खरिद गरिएको जग्गा जुन प्रयोजनका लागि लिइएको हो, सोबाहेक अन्य काममा प्रयोग गर्न वा बिक्री-वितरण गर्न पाइँदैन। तर, पतञ्जलिले उक्त कानुनी व्यवस्थाको उल्लंघन गर्दै जग्गा बिक्री गरेको आरोप छ।

प्रकाशित: ३१ जेष्ठ २०८२ २१:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App