सर्लाहीको बरहथवा नगरपालिकाले एक वर्षअघि भएको सहमति कार्यान्वयन नगरेको भन्दै एक स्थानीय नेता आमरण अनसनमा बसेका छन्।
गत वर्ष प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको सम्मानमा गरिएका वाचा पूरा नभएपछि जनमत पार्टीका नगर अध्यक्ष राजन सिंहले बिहीबारदेखि अनसन सुरु गरेका हुन्।
गत वर्ष नगर अस्पतालको विषयलाई लिएर भएको आन्दोलनका क्रममा स्थानीय होटल व्यवसायी साहको प्रहरीको गोली लागेर मृत्यु भएको थियो।
घटनापछि चर्किएको आन्दोलनलाई साम्य पार्न जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय वार्तामा नगरपालिकाले मृतक साहको सालिक बनाउने र अस्पतालको नामकरण पनि उनको नामसँग जोड्ने सहमति गरेको थियो।
एक वर्ष बितिसक्दा पनि सहमति कार्यान्वयनमा नगरपालिकाले कुनै पहल नगरेको भन्दै सिंह अनसनमा बसेका हुन्। उनले अस्पतालमा सरकारले तोकेको निःशुल्क औषधि उपलब्ध गराउनुपर्ने, नगरपालिकाको तीन वर्षको आयव्यय सार्वजनिक गर्नुपर्ने र नगर अस्पताल निर्माणको बजेट विवरण पारदर्शी बनाउनुपर्ने जस्ता थप मागहरू पनि राखेका छन्।
अत्यधिक गर्मीका कारण स्वास्थ्य अवस्था कमजोर भएपछि अनसनरत सिंहलाई अस्पताल भर्ना गरिएको छ। यद्यपि, माग पूरा नभएसम्म अनसन नतोड्ने उनले अडान लिएका छन्।
प्रकाशित: ३१ जेष्ठ २०८२ १९:५१ शनिबार