१ श्रावण २०८२ बिहीबार
image/svg+xml
समाज

जिर्मलेमा बहुसांस्कृतिक पार्क बन्दै

सांस्कृतिक विशेषतालाई पर्यटनमा जोड्दै आर्थिक उन्नतितिर लाग्ने प्रयासमा रोङ गाउँपालिका वडा ६, जिर्मलेमा संग्रहालयसहितको बहुसांस्कृतिक पार्क निर्माण गरिँदैछ । देशकै लोपोन्मुख लेप्चा समुदायसमेत रहेको यो स्थानका सबै जातजाति, भाषा, धर्म र सम्प्रदायको साझा तीर्थस्थलका रूपमा यो पार्क स्थापना गर्न लागिएको हो । 

जिर्मलेको डाँडामा तीन रोपनीभन्दा बढी क्षेत्रमा फैलिएको बहुसांस्कृतिक पार्क स्थानीय लेप्चा, तामाङ, राई, नेवारलगायत दर्जनौं जातजातिको पवित्रस्थलका रूपमा विकास भइरहेको वडाध्यक्ष सत्यम राई चौरासेले जानकारी दिए । उनका अनुसार यो पार्कमा स्थानीयस्तरमा लोप हुन लागेको धर्म, संस्कृति, विभिन्न जातीय रीतिरिवाजलगायतको पहिचान झल्किने संरचना विकास गरिँदैछन् ।

स्थानीय समुदायको एकता तथा सहकार्य प्रवर्द्धन गर्न संग्रहालयसहितको बहुसांस्कृतिक पार्कले भूमिका निर्वाह गर्ने उनको भनाइ छ । ‘नयाँ पुस्तामा सांस्कृतिक झुकाव बढाउनसमेत यो पार्कलाई माध्यमका रूपमा विकास गरिँदैछ,’ उनले भने, ‘पर्यटन, आर्थिक विकास, स्थानीय क्षेत्रको उजागर र समुदायको एकता तथा सहकार्य प्रवर्द्धन गर्न पार्क स्थापना गरिँदैछ,’ उनले भने, ‘पार्कका माध्यमबाट स्थानीय क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने, स्थानीय क्षेत्रको भौतिक विकास र प्रगतिले गाउँको प्रतिष्ठा बढाउने तथा कतिपय स्थानीयको खेर गइरहेको समयसमेत रचनात्मक काममा उपयोग हुनेछ ।’ 

इलाममात्र होइन, नजिकै रहेका झापा र भारतीय सीमावर्ती क्षेत्रका नागरिकसमेतलाई आकर्षित गर्ने आशा गरिएको यो ठाउँ विभिन्न जातजातिको संस्कृति अध्ययन थलोका रूपमा समेत विकास गर्ने लक्ष्य वडा कार्यालयले राखेको छ । पार्कका माध्यमबाट स्थानीय क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने, स्थानीय क्षेत्रको भौतिक विकास र प्रगतिले गाउँको प्रतिष्ठा बढाउने पार्क अध्यक्ष दलबहादुर योञ्जनले बताए । ‘गाउँ, सहर र समुदायमा सहकार्य, मेलमिलाप, भाइचारा विकास गर्न पार्कले सेतुको काम गर्ने आशा छ,’ उनले भने, ‘पार्कसँगै रहने संग्रहालयमा विभिन्न जातजातिको इतिहास र संस्कृति झल्काउने सामग्री संगृहीत रहन्छन् ।’

एउटै ठाउँमा धेरै जाति–संस्कृतिको विशेषता अध्ययन–अवलोकन गर्न सकिने, सामाजिक सशक्तीकरण गर्दै समाजमा सकारात्मक कार्यको वातावरण तयार गर्न महत्वपूर्ण थलोका रूपमा रहने अर्का स्थानीय मनबहादुर लाप्चाले बताए । ‘संस्कृति संरक्षण गर्नु हामी सबैको कर्तव्य हो,’ उनले भने, ‘त्यसकै लागि हामी स्थानीय सबै समुदाय मिलेर पार्क निर्माणमा जुट्ने निर्णय गरेका हौं ।’

पार्कसम्म आउने पर्यटक स्थानीय समुदायले व्यवस्थापन गरेका होमस्टेमा खान–बस्न पाउनेछन् । स्थानीय तामाङ, लेप्चा, राई, नेवारलगायतका लोक–सांस्कृतिक कला–कौशल पनि पर्यटकले अवलोकन गर्नेछन् । ‘स्थानीय राम योञ्जनले सबै जातिको फूलबारीमा रूपमा वडालाई विकास गर्न पार्क निर्माण गर्दैछौँ,’ उनले भने । 

वडा कार्यालयका अनुसार वडा, गाउँपालिका, प्रदेश र संघीय सरकारको सहकार्यमा पार्क निर्माण गरिने छ । ‘यो पार्क निर्माण गर्नसक्दा पर्यटनको एक महत्वपूर्ण गन्तव्य बन्नेछ,’ उनले भने, ‘यो वडाका बहुसांस्कृतिक पार्क, जिर्मले सांस्कृतिक सर्किट र पर्यटकीय झन्डीडाँडालाई मुख्य केन्द्रमा राखेर वडाको पर्यटन प्रवद्र्धन गर्न बजेट व्यवस्थापन हुँदैछ ।’ 

प्रकाशित: ३० जेष्ठ २०८२ २१:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App