वर्षौंदेखि उदयपुरवासीलाई ‘कहर’ खेपाउँदै आएको त्रियुगा नदी नियन्त्रणमा ७० प्रतिशत हिस्सा अझै बाँकी छ। त्रियुगा नदी व्यवस्थापन आयोजना कार्यालयका अनुसार ०६८/६९ देखि सुरु भएको नदी नियन्त्रण कार्य १३ वर्षको अवधिमा ३० प्रतिशतभन्दा बढी हुन सकेको छैन।
आयोजना प्रमुख (डिई) राजेन्द्रप्रसाद देवका अनुसार हालसम्म पहिलो चरणमा गर्नुपर्ने ४२ किमि दूरी बाँध निर्माण कार्य ३० प्रतिशत मात्र सम्पन्न भएको छ। नदीको शिरदेखि तीरसम्म ५०.५ किमि दूरीमध्ये पहिलो चरणमा फरक–फरक दुई खण्डमा २३.२ किमि बाँध निर्माण भए पनि पूर्णता पाउन सकेको छैन।
बाँकी खण्डको काम यो वर्ष टुक्रे योजनाअन्तर्गत तीनवटा साना खण्डमा काम गर्ने गरी भर्खरै ठेक्का लागेको डिई देवले बताए। चालु वर्ष त्रियुगा नगरपालिका– ९ उत्तराहीटोलमा एक सय ९२ मिटर, चौदण्डीगढी नगरपालिका– ९ ज्यामिरेमा दुई सय १० मिटर र बेलका नगरपालिका– १ अविनारायण टोलमा दुई सय एक मिटर खण्ड बाँध बाँध्ने गरी ठेक्का लागेको आयोजना कार्यालयका इन्जिनियर वीरेन्द्र महतोले बताए।
उनका अनुसार उत्तराहीटोलका लागि मूल्य अभिवृद्धि कर (भ्याट) सहित ६८ लाख ७७ हजार १२ रूपैयाँमा शिवु कन्स्ट्रक्सन काठमाडौंले ठेक्का सम्झौता गरेको छ। यही जेठ ४ को सम्झौताअनुसार आगामी ०८३ वैशाख ३० भित्र सो काम गरिसक्नुपर्ने छ।
त्यसैगरी गत वैशाख १३ को सम्झौताअनुसार बेलका– १ को काम भ्याटसहित ९१ लाख ८७ हजार नौ सय ३१ रूपैयाँमा ठेक्का लिएको एरिना निर्माण सेवा सुनसरीले लिएको छ। सो खण्डको काम सम्पन्न गर्न आगामी असोज ३० भित्र सक्नुपर्ने करार सम्झौता भएको छ।
ज्यामिरेको कामको भने सम्झौता हुन बाँकी रहेको इन्जिनियर महतोले बताए। उनका अनुसार सो बाँधका लागि पिके निर्माण सेवा रौतामाई उदयपुरले ९० लाख ४६ हजार नौ सय पाँच रूपैयाँमा ठेक्का लिने पक्का भए पनि सम्झौता गर्न बाँकी छ। सो खण्डको सम्झौता छिटै गरेर काम सुरु गर्न निर्माण व्यवसायीलाई बोलाइसकेको पनि महतोले बताए।
सरकारले बजेट दिन नसक्दा त्रियुगा नदी व्यवस्थापन कार्य कछुवा गतिमा भइरहेको छ। सुरुवातताका अर्ब बढी लगानी गरेको सरकारले पछिल्लो तीन आर्थिक वर्षयता कोभिडका कारण देखाउँदै बजेट नदिएपछि अहिलेसम्म सक्नुपर्ने बाँधको काम अलपत्र परेको डिई देवले बताए। चालु वर्ष सात करोड २० लाख विनियोजित बजेट पुरानो बक्यौता भुक्तानी गर्दै सकिएपछि नयाँ केही काम गर्न नसकेको उनको गुनासो छ।
पहिलो चरणको काम गर्न आयोजना कार्यालयले माथिल्लो भागको १०.६ किमि खण्डका लागि ७८ करोड र तल्लो खण्ड १२.६ किमिका लागि ७८ करोड ७४ लाखमा दुइवटा ठेक्का लगाएको थियो। आर्थिक वर्ष २०७७/७८ देखि आव २०७९/८९ सम्ममा नदीको माथिल्लो भाग १०.६ किमि र तल्लो भाग १२.६ किमि बाँध निर्माण भइसकेको छ। माथिल्लो भागको बाँध त्रियुगा नगरपालिका – ७ चुहाडेदेखि चौदण्डीगढी नगरपालिका– ९ अजगरासम्म तथा तल्लो भाग अजगरादेखि बेलका नगरपालिका– १ पुरन्दहसम्म बाँध निर्माण सकिएको छ।
तर पहिलो चरणको काम सकिनुअघि नै कोभिड कहर सुरु भएपछि रोकिएको बाँध निर्माण बजेट अभावका कारण निरन्तर चल्न नसक्दा बाँकी निर्माण अलपत्र परेको छ। कोभिडकै कारण देखाउँदै आव २०७८/७९ देखि सिँचाइ विभागले बजेट दिन नसकेकोमा चालु वर्षको बजेट सुनिश्चित गरेसँगै साना तीन खण्डको बाँध निर्माण गर्ने गरी ठेक्का लगाएको हो। ५०.६ किमि लामो नदीले क्षति गर्न सक्ने सम्भावित एकातर्फको ४२ किमि दूरीको बाँधले त्रियुगा नगरपालिका ७, ८, ९, ६, ५, ३, ११, १२, १३, २, १ नं. वडा समेट्ने छ।
त्यसैगरी छिमेकी चौदण्डीगढी नगरपालिकाका– १०, ९, ५ वडा तथा बेलका नगरका २ र १ लाई समेट्ने नदीमा लगाइने बाँधलाई सडकमा परिणत गरी २७ वटा पुल निर्माण गर्ने बृहत् योजना छ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ का सांसद डा. नारायण खड्काले परिकल्पना गरेको त्रियुगा नदी नियन्त्रण कार्यका लागि डेढ दशकअघि नै आठ अर्ब १५ करोड लागत इस्टिमेटको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको थियो। नदीको दुईतर्फी ८४ किमि लामो बाँध निर्माण परियोजना चार चरणमा पूरा गर्ने गरी आयोजना कार्यालयले काम गरिरहेको छ। पहिलो चरणको काम सकिएपछि दोस्रो चरणमा २२ किमि बाँध बाँध्न थप तीन अर्ब ९६ करोड रूपैयाँको इस्टिमेट छ।
आवश्यक बजेट सरकारले विनियोजन नगर्दा नदी नियन्त्रण कार्य कछुवा गतिमा भइरहेको छ। लगातार नगरेर बीचमा खाली राख्दै टुक्राटुक्रामा भइरहेको बाँध निर्माण कार्यले बर्खामा बाढी आउँदा नदी कटान र डुबान समस्याले स्थानीय पीडित हुनुपरेको जनगुनासो छ।
प्रकाशित: ३० जेष्ठ २०८२ ११:२६ शुक्रबार





