एक साता लामो प्रचण्ड गर्मीको कहर झेलिरहेका विराटनगरवासीले बुधबार साँझ परेको पानीले केही राहत महसुस गरे पनि नेपाल विद्युत प्राधिकरणको लोडसेडिङको मारबाट भने मुक्ति पाएका छैनन्।
चर्को गर्मीसँगै बढेको विद्युतको माग धान्न नसक्दा प्राधिकरणले घण्टौँसम्म अघोषित रूपमा लाइन काट्दा जनजीवन अस्तव्यस्त बनेको छ।
गर्मी र विद्युत कटौतीको दोहोरो मारले आजित स्थानीयले सामाजिक सञ्जालमा प्राधिकरणको चर्को आलोचना गरिरहेका छन्। विराटनगर-५ का सुमित ठाकुरका अनुसार मंगलबार साँझ ७ बजे काटिएको बत्ती राति १ बजे मात्र आएको थियो भने बुधबार पनि दिनभर लाइन आउने-जाने क्रम चलिरह्यो।
‘एकातर्फ उखरमाउलो गर्मी, अर्कोतर्फ बत्ती नहुँदा पंखा पनि नचल्ने, हामीले सास्तीको सीमा नाघिसक्यौँ,’ उनले गुनासो गरे।
यसैबीच, अत्याधिक गर्मीका कारण विराटनगर महानगरपालिकाले नगरभित्रका विद्यालयहरूमा तीन दिन बिदा दिने निर्णय गरेको छ। गर्मीले बालबालिकाको स्वास्थ्यमा पर्नसक्ने असरलाई ध्यानमा राख्दै बिदा दिइएको महानगरले जनाएको छ।
नेपाल विद्युत प्राधिकरण, विराटनगर वितरण केन्द्रले भने एक सूचना जारी गर्दै समस्या स्वीकार गरेको छ। गर्मीका कारण विद्युतको माग ह्वात्तै बढेकाले वितरण प्रणालीमा ओभरलोड भएको प्राधिकरणको भनाइ छ।
सूचनामा भनिएको छ, ‘ट्रान्सफर्मरको फ्युज पड्किने, केबल पग्लिने/जल्ने र भोल्टेज अस्थिर हुनेजस्ता समस्या देखिएका छन्।’ प्राविधिक टोली समाधानका लागि निरन्तर खटिरहेको जनाउँदै प्राधिकरणले उपभोक्तामा पर्न गएको असुविधाप्रति क्षमायाचना समेत गरेको छ।
प्रकाशित: २८ जेष्ठ २०८२ १८:३५ बुधबार





