सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र जीवन विज्ञान प्रतिष्ठानले आज सञ्चार मन्त्रालयका मन्त्री, सचिव, सहसचिवहरू र कर्मचारीहरू माझ योग अभ्यास प्रशिक्षण प्रदान गरिएको छ ।
सार्वजनिक प्रसारण रेडियो नेपालको सभा हलमा गरिएको योग अभ्यास कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ, सचिव राधिका अर्याल, सहसचिवहरू र कर्मचारीहरूले योग सिकेका छन्।
कार्यक्रममा जीवन विज्ञान प्रतिष्ठानका संस्थापक एपी भानु शर्माले विभिन्न तीन योग आसन प्रशिक्षण दिए। साथै उनले मानव जीवनलाई सरल, सहज, निरोगी, शान्त र समृद्धि तर्फ उन्मुख हुन योग अनिवार्य अभ्यास गर्नुपर्ने सुझाव दिएका थिए। उनले सरकारले नागरिकलाई योगी जीवनशैलीको विकास गराउन नीतिगत व्यवस्थामा ख्याल गर्नु पर्ने बताए। जसले योग गर्छ उसले लामो समय जीवनयापन गर्छ भन्ने सन्देश सँगै योग गुरु शर्माले आध्यात्मिक जीवनतर्फ प्रेरित गरे।
मन्त्री गुरुङले आफूलाई चिन्न सके धेरै सफलता हाता पार्न सकिने धारणा राख्दै कुशल नागरिक बन्न योग र ध्यानले आन्तरिक रुपमा सघाउ पुर्याउने बताए।
सञ्चार सचिव राधिका अर्यालले कर्मचारीहरूप्रति केन्द्रित हुँदै शान्त, अनुशासित र जिम्मेवार कार्यसम्पादनमा जीवनशैली प्रेरित गर्नु पर्ने बताइन्। यसको लागि आफ्नो दैनिकीलाई जति सक्दो शान्त र स्वस्थ्य हुनु आवश्यक रहेको सुनाउँदै सचिव अर्यालले योग अभ्यास कार्यक्रमलाई मन्त्रालयले महत्वका साथ लिएको बताइन्।
प्रकाशित: २७ जेष्ठ २०८२ १८:४० मंगलबार