७ असार २०८२ शनिबार
image/svg+xml
समाज

काठमाडौं उपत्यकामा सरदरभन्दा बढी गर्मी

राजधानीको तापक्रम दिनहु बढ्दो क्रममा छ। आइतबार सरदर तापक्रम ३०.५ डिग्री सेन्टिग्रेड रहेकोमा सोमबार बढेर ३१.६ डिग्री पुगेको थियो। मंगलबार पनि यो ३० देखि ३२ डिग्री सेन्टिग्रेडको बिचमा रहने मौसम पूर्वानुमान महाशाखाको आकलन छ। जून महिनाको लागि राजधानी काठमाडौंको सरदर तापक्रम २९.५ डिग्री सेन्टिग्रेड हो।  

‘वर्षा हुन नसकेको र बादल पनि नलागेको कारण तापक्रम बढेको हो,’ महाशाखाका मौसमविद डेविड ढकालले भने। बिहानको न्यूनतम तापक्रम पनि सोमबार २०.४ डिग्री रहेकोमा मंगलबार यो बढेर २१.८ डिग्री सेन्टिग्रेडमा उक्लेको थियो।

नेपालको पूर्वी क्षेत्रमा जेठ १५ बाटै मनसुन प्रवेश गरे पनि यसको विस्तार हुन सकेको छैन।

‘मनसुन पूर्वबाट अगाडि बढ्न सकेको छैन, तर यो क्रमश: बढ्ने क्रममा छ। यो हिसाबले भोलिदेखि तापक्रम घट्न सक्ने देखिन्छ,’ ढकालले भने।

यसअघि यसै वर्षको अप्रिल २४ मा काठमाडौंमा सर्वाधिक ३३.५ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको थियो।  

काठमाडौं मात्रै होइन हाल नेपालगन्ज तथा दिपायल लगायतका सहरमा पनि तापक्रम सरदरभन्दा अत्यधिक रहेको छ। जून महिनाको लागि नेपालगन्जको सरदर तापक्रम ३६.६ डिग्री रहेकोमा सोमबार यो ४१ डिग्री सेन्टिग्रेड पुगेको थियो। यसैगरी धनगढीको जून महिनाको सरदर तापक्रम ३६.३ डिग्री रहेको सोमबारको अत्यधिक तापक्रम ४०.२ डिग्री सेन्टिग्रेड रहेको थियो।

महाशाखाले यो वर्ष अन्य वर्षको तुलनामा सरदरमा बढी गर्मी र बढी वर्षा हुने आकलन गरेको छ।

प्रकाशित: २७ जेष्ठ २०८२ १३:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App