१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

प्राथमिक विद्यालयमा ५३ लाखमा पक्की भवन, प्रविधिमैत्री शिक्षणमा जोड

भोजपुर नगरपालिका–६ पालुवामा रहेको पालुवा प्राथमिक विद्यालयमा पक्की भवन बनेपछि पठनपाठन सहज भएको छ। भूकम्पले जीर्ण भवनबाट सञ्चालित विद्यालयमा पक्की भवन निर्माण भएपछि सहजता आएको हो।

संघीय सरकारको ५३ लाख रुपैयाँ लागतमा पक्की भवन बनेको विद्यालयले जनाएको छ। भवनसँगै बालबालिकाको सिकाइलाई प्रभावकारी बनाउन प्रविधिमैत्री शिक्षणमा जोड दिइएको छ। साना बालबालिकालाई प्रविधिमा आधारित शिक्षा दिने लक्ष्य राखिएको प्रधानाध्यापक गङ्गादेवी प्रधानले बताए।

विद्यालयमा चार स्मार्ट बोर्ड, स्मार्ट टिभी, प्रोजेक्टर र कम्प्युटरको प्रयोग गरी श्रव्यदृश्य माध्यमबाट पढाइ भइरहेको छ। पाँच कम्प्युटर जडान गरी बालबालिकालाई कम्प्युटरसम्बन्धी ज्ञान दिइरहेको प्रधानाध्यापक प्रधानले बताए। 

‘हामीले प्रविधिमैत्री शिक्षणमा जोड दिएका छौँ,’ उनले भने, ‘प्रविधिको प्रयोगले बालबालिकाले चासोका साथ पढ्छन्, जसले गुणस्तर सुधारमा सहजता ल्याएको छ।’

बालबालिकाले विज्ञान कक्षासँगै हप्ताको दुई दिन कम्प्युटरको अभ्यास गर्छन्। वडाले भौतिक संरचना सुधार र प्रविधिमैत्री शिक्षणमा सहयोग गरेको वडाध्यक्ष शैलेन्द्र कार्कीले बताए। उनकै पहलमा पक्की भवन बनेको हो। नगरपालिकामा प्राथमिक तहका विद्यालयमध्ये पक्की भवनबाट पठनपाठन गर्ने यो पहिलो सामुदायिक विद्यालय भएको कार्कीको दाबी छ।

‘हामीले शैक्षिक र भौतिक संरचनाको विकासमा जोड दिएका छौँ,’ वडाध्यक्ष कार्कीले भने, ‘प्राथमिक विद्यालय भए पनि यहाँ प्रविधिमैत्री शिक्षण हुन्छ। हाम्रो पहलमा पक्की भवन बनाउन सफल भएका छौँ। नगरपालिकामा प्राथमिक विद्यालयको राम्रो संरचना भएको विद्यालय बनाएका छौँ।’

संघीय सरकारको ५३ लाख लागतमा भवन बनेको र वडाले १० लाख विनियोजन गरी दुई स्मार्ट बोर्ड, दुई स्मार्ट टिभी, तीन ल्यापटप, पाँच कम्प्युटर र एक प्रोजेक्टर प्रदान गरेको कार्कीले बताए।

प्रकाशित: २६ जेष्ठ २०८२ १०:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App