जब स्वार्थ, विचार वा सत्ता सन्तुलन बदलिन्छ तब राजनीतिमा मन पराइएका मित्रतापूर्ण सम्बन्ध पनि स्थायी हुँदैन। सुरुवातमा साझा उद्देश्य र विश्वासले उनीहरूलाई नजिक ल्याए पनि समयसँगै व्यक्तिगत महत्त्वाकाङ्क्षा, विचार भिन्नता वा राजनीतिक फाइदाका कारण ती सम्बन्ध टुट्छन्। उनीहरू एकअर्काको आलोचक बन्छन्। जुन राजनीतिमा सामान्य तर गम्भीर यथार्थ हो। यस्तो घटनाले देखाउँछ कि राजनीतिक सम्बन्ध भावनामा होइन, अवसरमा आधारित हुन्छ।
यसको उदाहरण काठमाडौं महानगरपालिको चुनाव लगत्तै मेयर बालेन साह र उपमेयर सुनिता डङ्गोलको मित्रतामा देखिन्छ। यो मित्रता धेरैले मन पराएका थिए। विकास निर्माणको क्रममा यी दुई उपस्थित हुँदा सर्वसाधारण ताली बजाउँथे। विगतमा इन्द्रजात्राको दिन वसन्तपुरमा यी दुई सँगै देखिँदा सर्वसाधारणको बाक्लो भिडले समर्थनमा नाराबाजी समेत गरेको थियो। युवा पीढीको आदर्श जस्तै देखिन्थे, महानगरका यी दुई सारथि।
तर पछिल्लो समय यी सारथिको सम्बन्धमा ‘पोल्टीकल्ली खटपट’ देखिएको छ। एमालेबाट उपमेयर चुनाव जितेकी सुनिता र स्वतन्त्र मेयर बालेन साहको मित्रता लगभग टुटेको अवस्थामा देखिन्छ। यो मित्रता टुटाउन नेकपा (एमाले) र अझ त्यसमा पनि अध्यक्ष केपी शर्मा ओलीको भूमिका मुख्य रहेको कतिपयको आरोप छ।
बालेन र सुनिताको राजनीतिक खटपटसँगै अहिले नेकपा (एमाले)भित्र स्वयं ओली र पूर्व राष्ट्रपति विद्या भण्डारीको राजनीतिक सम्बन्ध पनि सङ्कटमा देखिन्छ।
पूर्व राष्ट्रपति विद्या भण्डारीले पुनः सक्रिय राजनीतिमा फर्कने औपचारिक निर्णय नगर्दै एमालेभित्र हलचल पैदा भएको छ। भण्डारी हालै चीन भ्रमणबाट फर्केर आएपछि एमालेमा हलचल उत्पन्न भएको हो। राष्ट्रपति हुनुअघि उनी एमालेको उपाध्यक्ष थिइन्।
चीन भ्रमणबाट फर्केकी भण्डारी अहिले पूर्वी नेपालका झापा, मोरङलगायतका जिल्ला भ्रमणमा छिन्। भण्डारी पूर्वी नेपालको भ्रमणमा रहेकै बेला यता काठमाडौंमा एमाले अध्यक्ष ओलीले तीव्र असन्तुष्टि जाहेर गरेका छन्।
ओलीले आइतबार पार्टीका नेता–कार्यकर्तासँग भण्डारीको पक्षमा नखुल्न चेतावनीपूर्ण भाषा प्रयोग गरे। ‘अर्को खेल हुन खोज्या छ यहाँ। अब फलाना आउने अरे यहाँ, फलाना आउने रे,’ ओलीले भण्डारीको राजनीतिक भेटघाटलाई लक्षित गर्दै भने, ‘पार्टीमा यस्तो कुनै छलफलै भएको छैन, को महासचिव, को अध्यक्ष, को उपाध्यक्ष।’
भण्डारी आइतबार पनि झापामा विभिन्न कार्यक्रममा सरिक भइन्। ओली आफ्नो गृह जिल्ला पुगेर भण्डारीले राजनीतिक भेटघाट गरेपछि आक्रोशित बनेको बुझिएको छ।
त्यसैले त भनिएको हो राजनीतिमा कोही स्थायी मित्र या शत्रु हुँदैन।
प्रकाशित: २६ जेष्ठ २०८२ ०९:०७ सोमबार





