१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

आयल निगमका गण्डकी प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा, चार लाख बढी बिगो माग

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगम गण्डकी प्रादेशिक कार्यालय, कास्कीका प्रमुख चित्तरञ्जन दाससहितविरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको छ।

मिलेमतोमा बिलमा उल्लेख भएकोभन्दा बढी पेट्रोलियम पदार्थ डिजेल पठाएको उजुरीमा अनुसन्धानपछि विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

पेट्रोलियम पदार्थको डिप र सिल गर्ने जिम्मेवारीमा रहेका डिलर्स एसोसिएसनका प्रतिनिधि जगन्नाथ ढुङ्गाना र लक्ष्मण रानाभाटसँग मिलेमतो गरी बदनियत राखी सिसी क्यामेरा बन्द गरेर बढी पेट्रोलियम पदार्थ पठाएको अख्तियारले जनाएको छ।

कुल १२ हजार लिटर डिजेल पठाउनुपर्नेमा १५ हजार ३८ लिटर पठाइएको र उक्त डिजेल बोकेको ट्याङ्कर पोखरा महानगरपालिका–२७ मा नियन्त्रणमा लिइएको थियो। बिलमा उल्लेख भएभन्दा बढी तीन हजार ३८ लिटर डिजेलको प्रतिलिटर मूल्य १४७ रुपैयाँ अनुसार चार लाख ४८ हजार ५२५ रुपैयाँ हिनामिना भएको आयोगको दाबी छ।

आयोगले प्रमुख दास, पश्चिमाञ्चल ट्रेडर्सका सञ्चालक बाबुराम जमरकट्टेल, गण्डकी धौलागिरि पेट्रोलियम एसोसिएसनका तत्कालीन प्रतिनिधि ढुङ्गाना र रानाभाट, ट्याङ्कर चालक निर्मला थापाविरुद्ध जनही चार लाख ४८ हजार ५२५ रुपैयाँ बराबरको बिगो दाबी गरेको छ।

प्रकाशित: २५ जेष्ठ २०८२ १९:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App