मदनभण्डारी राजमार्गअन्तर्गत गुल्मीको रिडी-तम्घास सडकखण्डमा कालोपत्र सुरु भएको छ। पहिलो चरणमा रुरुक्षेत्र गाउँपालिकादेखि छत्रकोट हुँदै गुल्मीदरबारसम्म कालोपत्रको काम भइरहेको छ।
रुरुक्षेत्रदेखि गुल्मी दरबारको रुन्खादहसम्म २५ किमी सडक आगामी फागुन २५ सम्म कालोपत्र सक्ने लक्ष्य छ। मदनभण्डारी राजमार्ग आयोजना कार्यालय गुल्मीका इन्जिनियर हुमनाथ पौडेलले भने, ‘रिडीदेखि २५ किलोमिटरसम्म ढलान र अस्फाल्ट गर्ने कार्यक्रम छ, अहिलेसम्म आठ किलोमिटर सम्पन्न भइसकेको छ, अब १७ किलोमिटर बाँकी छ, मौसमले साथ दियो भने यस आर्थिक वर्षमा १८ देखि १९ किलोमिटर गर्ने कार्यक्रम छ।’
निर्माण कम्पनीले रुरुक्षेत्र, छत्रकोट र गुल्मीदरबारमा ग्रेड कटिङ र मोड सुधारको काम अन्तिम चरणमा पुर्याएको छ। सम्झौताअनुसार कटिङ, नाली, संरचना निर्माण र ग्राभेलको काम तीव्र गतिमा भइरहेको छ। २५ किमी सडकमध्ये २ किमी ढलान र ६ किमी कालोपत्र भइसकेको पौडेलले बताए।
सडकखण्डमा हालसम्म ७० प्रतिशत भौतिक र ५५ प्रतिशत वित्तीय प्रगति भएको छ। दुई वर्षदेखि स्थानीयले धुलो र हिलोको समस्या भोगेका थिए। सडक निर्माणका लागि २०७९ फागुन २६ मा समानान्तर–एलाइट जेभीले १ अर्ब ५० करोडमा ग्रेड कटिङ, मोड सुधार र कालोपत्रको सम्झौता गरेको थियो।
प्रकाशित: २४ जेष्ठ २०८२ १३:२३ शनिबार





