मुस्लिम समुदायको दोस्रो प्रमुख चाड ईद-उल-अज्हा (बकरिद) को अवसरमा कपिलवस्तुका चार पालिकाले आइतबार स्थानीय बिदा घोषणा गरेका छन्।
महाराजगञ्ज नगरपालिका, शुद्धोदन, मायादेवी र यशोधरा गाउँपालिकाले सूचना जारी गर्दै बकरिदका लागि आइतबार बिदा दिने जनाएका छन्। बकरिद शनिबार परेको छ। यी पालिकाले बकरिदको अवसरमा आइतबार बिदा दिने सूचना प्रकाशित गरेका हुन्।
मुस्लिम अगुवाहरूका अनुसार बकरिद तीन दिनसम्म मनाइन्छ। आकस्मिक सेवाबाहेक पालिकाका सबै सेवा बन्द रहने जनाइएको छ। पालिका, वडा कार्यालय र शैक्षिक संस्थाहरू सबै बन्द रहनेछन्।
महाराजगञ्ज नगरपालिकाका मेयर अब्दुल कलाम, सुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी, मायादेवी गाउँपालिकाका अध्यक्ष वलीउद्दीन मुसलमान र यशोधरा गाउँपालिकाका अध्यक्ष शिवदयाल तिवारीले बिदाको सूचनामा हस्ताक्षर गरेका छन्। कपिलवस्तुमा मुस्लिम जनसंख्या उल्लेख्य रहेको छ।




प्रकाशित: २३ जेष्ठ २०८२ २०:५३ शुक्रबार





