१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

विश्व वातावरण दिवस : 'मोइथान'मा मगरहरूको वृक्षारोपण

बूढानीलकण्ठ मगर समाजको आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। विश्व वातावरण दिवसको अवसर पारेर बिहीबार (आज) मगर समुदायको आस्थाको प्रतीक खुर्पेटो स्थापना स्थलको मोइथान परिसरमा वृक्षारोपण गरिएको हो।

गोकर्णेश्वर नगरपालिका राष्ट्रिय शहीद तथा शान्ति पार्क रहेको सामुदायिक वनको क्षेत्रमा उच्च सम्मानका साथ मातृभूमिको पूजा-अर्चना गर्न तयार गरेको मोइथान परिसरमा सांस्कृतिक तथा धार्मिक रूपमा पितृलाई चाहिने रुख विरुवा रोपिएको समाजका अध्यक्ष प्रदीप थापाले बताए।

रोपिएका विरुवाहरूमा सालधुप, अमला, भैरुङपाती, रारावृक्ष, भिमसिनपाती, सल्ला, धुपी, अम्बा, एभोगाडो, सुन्तला, ड्रागनफूड, आरुलगायत छन्। अध्यक्ष थापाका अनुसार करिब १३५ थान विरुवा रोपिएका छन्।

मोइथानको पवित्रतालाई कायम राख्दै परिसर सफा राख्ने उद्देश्यले पनि वृक्षारोषण गरिएको समाजले जनाएको छ। बिरुवाको हेरचाह तथा रेखदेखका लागि एक हप्तासम्म पालैपालो गरी पानी हाल्ने क्रम मिलाइएको समाजका सचिव उमेश राना मगरले जानकारी दिए।

मातृभूमिको प्रार्थना तथा पूजा-अर्चना गर्न, कुलपूजा तथा सिमेभूमे गर्नका लागि मगरहरूले गत जेठ १७ गते विधिवत् रूपमा मोइथान स्थापना गरेका थिए। 

यस्तै प्लाष्टिक प्रदूषण न्यूनीकरण गर्न र प्रयोगमा आएका प्लाष्टिकलाई व्यवस्थित गर्न सहज होस् भनेर समाजका तर्फबाट एक ठूलो बीन सामुदायिक बनका अध्यक्ष शुदर्शन सिग्देललाई हस्तान्तरण गरिएको छ। बीन वडा नं. १३ का संयोजक खड्ग बहादुर थापाको सौजन्यमा हस्तान्तरण गरिएको हो।  

प्रकाशित: २२ जेष्ठ २०८२ २०:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App