१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

सरकारको उपेक्षाले अलपत्र सिद्धिचरण लोकमार्ग

चालु आर्थिक वर्षको बजेटमा सिद्धिचरण लोकमार्गका लागि एक अर्ब ५ करोड विनियोजन भए पनि कामै नगरी वर्ष बितेको छ। तत्कालीन अर्थमन्त्री वर्षमान पुनले नीति तथा कार्यक्रममा प्राथमिकतामा राखे पनि पछिल्लो सरकारले योजना तुहाएको स्थानीयको आरोप छ।

सिरहाको मिर्चैयादेखि उदयपुरको कटारी, घुर्मी हुँदै ओखलढुंगा र सोलुखुम्बुसम्म जोड्ने सिद्धिचरण लोकमार्ग साढे तीन दशकअघि निर्माण सुरु भएको हो। तत्कालीन नेपाली सेनाको इन्जिनियर गुल्मले कटारी–घुर्मी खण्डको ४७ किलोमिटर सडक बनाएर २०६० सालमा उद्घाटन गरेको थियो। तर, पछिल्लो दुई दशकमा सडक भत्किएर कच्ची ट्र्याकभन्दा पनि खराब अवस्थामा पुगेको छ।

लोकमार्ग मर्मत र स्तरोन्नतिका लागि स्थानीयले चर्को दबाब दिँदा पनि सरकारले बेवास्ता गरेको गुनासो छ। सेनाले बनाएको साँघुरो कालोपत्रे सडक सवारीको चापले जीर्ण बनेपछि समयानुकूल सुधारको मागलाई सरकारले वास्ता नगरेको उनीहरूको भनाइ छ।

अघिल्लो सरकारले बजेट सुनिश्चित गरे पनि वर्तमान सरकारले विभिन्न कारण देखाउँदै रातो किताबमा परेको योजनालाई कार्यान्वयन गर्न नसकेको स्थानीयको गुनासो छ। आर्थिक वर्षको अन्त्य नजिकिँदा बजेट निकासा नहुँदा विनियोजित रकम फिर्ता हुने अवस्थामा पुगेको छ।

सिद्धिचरण लोकमार्ग जीर्ण हुँदा तराई–मधेशदेखि कटारी हुँदै खोटाङ, ओखलढुंगा र सोलुखुम्बु आवतजावतमा कठिनाइ छ। उदयपुरको कटारी नगरपालिकाका आधा दर्जनभन्दा बढी पहाडी वडाहरू (वडा नं. ८, ९, १०, ११, १२, १३ र १४) का बासिन्दालाई वर्षायाममा नगरमुकाम कटारी बजार आउजाउ गर्न समस्या छ।

यो लोकमार्ग कटारी नगरपालिकाको ‘लाइफलाइन’ हो। १४ वडामध्ये १, २, ३, ४, ५, ८, ९, १०, ११ र १४ नं. वडालाई यो सडकले जोड्छ। वडा नं. ५, ६, ७, १२ र १३ का बासिन्दा पनि अप्रत्यक्ष रूपमा यसका उपभोक्ता छन्। यो सडक नगरको आन्तरिक विकासको मेरुदण्ड भए पनि सरकारको ध्यान नपर्दा समस्या भोग्नुपरेको उनीहरूको गुनासो छ।

दुई दशकदेखि हिउँदमा धुलाम्मे र वर्षायाममा हिलाम्मे सडकको कहर भोग्न बाध्य भएको नेकपाका स्थानीय नेता लक्ष्मण पौड्याल बताउँछन्। कटारी–४ का पौड्यालका अनुसार सडक स्तरोन्नतिका लागि नगरपालिका, सङ्घ र प्रदेश सांसद, उदयपुर उद्योग वाणिज्य सङ्घ र सरोकारवालाले मन्त्रालय, सडक विभाग हुँदै प्रधानमन्त्रीसम्म पटक–पटक आग्रह गरेका छन्।

यो वर्ष सडक स्तरोन्नति हुने आशामा बसेका स्थानीयले ‘बहुवर्षीय योजनाअन्तर्गत रकम सुनिश्चित’ भएको जानकारी पाए पनि काम नभएर आर्थिक वर्ष बित्न लाग्दा निराश भएका छन्। बजेट रातो किताबमा परे पनि कार्यान्वयन नहुनुको कारण थाहा नपाएको उनीहरूको दुखेसो छ।

कटारी नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले बजेट कार्यान्वयन नहुँदा कटारीबासी र लोकमार्ग आसपासका उपभोक्ताले कष्ट भोग्नुपरेको बताए। बजेट कार्यान्वयनमा केले रोक्यो भन्ने जानकारी नभएको र ठूलो रकम फिर्ता हुनु दुखद भएको उनको भनाइ छ। यो लोकमार्गले कटारीको विकासमा कायापलट गर्ने सम्भावना बोके पनि सरकारले लापरबाही गरेको उनले आरोप लगाए। सङ्घीय सरकारको योजना भएकाले नगरपालिकाले लगानी र नियमन गर्न नसक्ने भन्दै उनले सङ्घबाटै चासो र लगानी हुनुपर्ने बताए।

उदयपुर उद्योग वाणिज्य सङ्घ कटारीका अध्यक्ष जमानसिंह बस्नेतले वर्षौँदेखि अलपत्र सडक स्तरोन्नतिमा सरकारले ध्यान नदिएको गुनासो गरे। बजेट भाषणमा परेको योजना लागू नहुँदा जिल्लाको पश्चिमी भेगका बासिन्दा सडक समस्याले मारमा परेको उनले बताए। सडक जीर्ण हुँदा व्यापारी–व्यवसायी पनि प्रभावित भएको भन्दै उनले छिटो स्तरोन्नति गर्न आग्रह गरे।

चालु आर्थिक वर्ष २०८१/८२ को कुल बजेट १८ खर्ब ६० अर्ब ३० करोडमध्ये कटारी–घुर्मी खण्डका लागि १ अर्ब ५ करोड विनियोजन भएको थियो। तर, जेठ दोस्रो सातासम्म काम नहुँदा बजेट फिर्ता हुने निश्चित भएको छ। स्थानीयले यसप्रति आक्रोश व्यक्त गरेका छन्।

कटारी–घुर्मी सडक योजना कार्यालयका प्रमुख पशुपति ज्ञवालीले चालु वर्षमा सिद्धिचरण लोकमार्ग स्तरोन्नतिको कुनै कार्यक्रम कार्यान्वयन नभएको बताए। वातावरणीय प्रभाव मूल्यांकन तीन–चार महिनाअघि वन मन्त्रालयले सम्पन्न गरे पनि सडक विभाग, पूर्वाधार मन्त्रालय हुँदै अर्थ मन्त्रालयसम्म पुग्दा बजेट कार्यान्वयन हुन नसकेको उनले जनाए।

प्रकाशित: २१ जेष्ठ २०८२ ०९:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App