गत वर्षको बाढीपहिरोले क्षति पुर्याएका सिन्धुली, रामेछाप लगायतका जिल्लाका दर्जनौं मठमन्दिर तथा धार्मिक स्थलहरू अझै संरक्षणको पर्खाइमा छन्।
समयमै मर्मतसम्भार र संरक्षणको अभावमा यी सम्पदाहरू थप जोखिममा परेका छन् भने यस वर्षको मनसुनले थप क्षति पुर्याउन सक्ने त्रासमा स्थानीय छन्।
रामेछापको खाँडादेवी गाउँपालिका-३, चिसापानीमा अवस्थित कृष्ण मन्दिर पहिरोको उच्च जोखिममा छ। गत वर्ष असोजमा आएको बाढीपहिरोले मन्दिरको मूल गेट नै छोपिने गरी माथिबाट पहिरो खसेको थियो।
स्थानीय तहको सामान्य बजेटबाट पहिरो पन्छाउने काम भए पनि मन्दिरको संरक्षण हुन नसकेको स्थानीय भरत रायमाझीले सुनाए।
‘स्थानीयकै पहलमा केही वर्षअघि निर्माण सम्पन्न भएको मन्दिरको वरपर सबैतिर पहिरोको उच्च जोखिम छ,’ उनले भने, ‘गत वर्षको ठूलो वर्षाले क्षति पुर्यायो, स्थानीय तहले थोरै बजेट दियो, पहिरो पन्छाउँदै सकियो। मन्दिर संरक्षणका लागि थप बजेट आवश्यक छ।’
उनले स्थानीय सरकारसहित प्रदेश सरकारले यस्ता धार्मिक आस्थाका मठमन्दिरको संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिए। रामेछापका अन्य दर्जनौं स्थानमा रहेका धार्मिक मन्दिरहरू पनि कि ढलेका छन् कि जोखिममा छन्, तर तिनलाई पुरानै अवस्थामा फर्काउन सकिएको छैन।
कुशेश्वर महादेव मन्दिर पनि जोखिममै
रामेछाप, सिन्धुली र काभ्रेको संगमस्थलमा रहेको, देशकै प्रमुख धार्मिक आस्थाको केन्द्र कुशेश्वर महादेव मन्दिर पनि रोशी र सुनकोसी नदीको कटानको चपेटामा छ।
गत वर्ष रोशी खोलामा आएको बाढीले मन्दिरको दुवैतर्फ कटान गरेको थियो। मन्दिर परिसरमा बस्ने बटुकहरूलाई बाढीको जोखिम बढेपछि हेलिकप्टरबाट उद्धार गरिएको थियो। उक्त मन्दिर अझै जोखिममै रहेको र नियन्त्रणका लागि सुरुवाती प्रयास भए पनि अपुरो बजेटका कारण कामले पूर्णता पाउन सकेको छैन।
सुनकोसी गाउँपालिका-१, सिन्धुलीका वडाअध्यक्ष रामकुमार श्रेष्ठका अनुसार, मन्दिर जाने बाटो व्यवस्थापनका लागि ह्युमपाइप राख्ने लगायतका काम स्थानीय निकायले गरे पनि मन्दिरको सुरक्षा र संरक्षण हुन सकेको छैन। ‘अपुरो काम गर्न बजेट आएको छ, काम हुँदै पनि छ तर पूरा हुने अवस्था छैन,’ उनले भने, ‘गत वर्षकै जस्तो बाढी यो वर्ष पनि आयो भने मन्दिर जोगाउन निकै हम्मेहम्मे पर्छ।’
बाढीपहिरोका कारण जोखिममा परेका धार्मिक तथा पर्यटकीय आस्थाका स्थलहरूको संरक्षणका लागि सरकारले तत्कालै पहल गर्नुपर्ने स्थानीयको माग छ।
स्थानीय सरकार, प्रदेश सरकार तथा केन्द्रीय सरकारको ध्यान मठमन्दिरको संरक्षणमा पनि पर्नुपर्ने उनीहरूको भनाइ छ।
गत वर्षको बाढीले क्षति पुर्याएका संरचनाहरू समयमै मर्मत नहुँदा यस वर्षको मनसुनले थप जोखिम निम्त्याउन सक्ने चिन्ता बढेको छ।
रोशी र सुनकोसी आसपासका दर्जनौं मठमन्दिर, पाटीपौवा तथा अन्य पर्यटकीय क्षेत्रहरू बाढीको चपेटामा परेका छन्।
प्रकाशित: २० जेष्ठ २०८२ २१:३९ मंगलबार