१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

पर्यटक सवार सवारीलाई स्कर्टिङको सहारा

<br>

यातायात व्यावसायीको आन्दोलनका कारण सार्वजनिक सवारी संचालन नभएपछि पोखरामा रोकिएका विदेशी र आन्तरिक पाहुनालाई प्रहरीले स्कर्टिङ गरेर गन्तव्यका लागि पठाएको छ।  

पोखरामा रोकिएका विदेशी र स्वदेशी गरि ५ सय ६४ जना यात्रुलाई सोमबार विभिन्न १७ वटा पर्यटक बसमार्फत काठमाडौं र चितवन पठाएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतले बताए। उनका अनुसार पोखरा–७ राष्ट्रबैंकचोकस्थित पर्यटक बसपार्कमा भेला भएका ती यात्रुलाई पर्यटकबसमार्फत काठमाडौं र चितवन पठाइएको हो।  

काठमाडौंका लागि १४ र चितवनका लागि ३ गरि १७ वटा बसमा यात्रुलाई पठाएको बस्नेतले बताए। यातायात व्यावसायीको आन्दोलनका कारण प्रहरीले तीनदिनदेखि सार्वजनिक सवारीलाई स्कर्टिङ गरेर पठाएको उनले बताए। देशब्यापी रुपमा सोमबारदेखि यातायात व्यावासायीले आन्दोलन गरेपनि गण्डकी प्रदेशमा भने विगत चारदिनदेखि व्यावसायीले सार्वजनिक सवारी संचालन गरेका छैनन।  

कास्की प्रहरीले तनहुँको सीमाना कोत्रेसम्म स्कर्टिङ गरेर सवारी पठाउने गरेको छ। कोत्रेबाट मुग्लिनसम्म तनहुँ प्रहरीले सवारीको स्कर्टिङ गर्दै आएको छ। सोमबार डिएसपी बस्नेतको कमाण्डमा प्रहरी र सशस्त्र प्रहरी निरिक्षक रमेश कँडेलको कमाण्डमा सशस्त्र प्रहरी बल नेपाल–२४ गण, कालिकागणबाट सशस्त्र प्रहरीको टोली स्कर्टिङका लागि खटिएको थियो। ‘सवारी र यात्रुको सुरक्षाका लागि स्कर्टिङ गरिएको हो,’ उनले भने।

प्रहरीको स्कर्टिङमा हिजो पोखराबाट २३ गाडीले पर्यटक लिएर गन्तव्यमा गएका थिए। तीमध्ये चितवनका लागि तीन र काठमाडौंका लागि २० वटा गाडी थिए। नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) गण्डकीका अध्यक्ष किशोर दाहालका अनुसार सोमबार पोखराबाट छुटेका बसलाई तनहुँको दमौलीमा अवरोध गरेर आन्दोलनकारीले बसको टायरको हावा फ्याकिदिएका थिए। पछि हावा भरेर सवारी गुडेका थिए। ‘पोखराबाट छुटेपनि अन्तिम गन्तव्यसम्म सवारीसाधन नपुगेसम्म तनावको अवस्था रहेको छ। कहाँ र कतिबेला कस्तो अवस्था आउने भन्ने तनाव भएको छ,’ उनले भने।  

दाहालका अनुसार स्कर्टिङ गरि पठाइएका सवारीमा पोखरा क्षेत्र घुम्न आएका विदेशी र नेपाली पर्यटक तथा वैदेशिक रोजगारीका लागि जान लागेका स्वदेशी यात्रु रहेका छन। ‘हवाई टिकट पनि भनेको बेला पाँइदैन। त्यसबाहेक मौसमी अवरोधका कारण हवाई उडानमा बेलाबेला अवरोध आउँदा पनि यात्रुलाई सकस छ। उडान रोकिएका यात्रु पनि स्थलमार्गबाट जाने गर्छन,’ उनले भने, ‘राजमार्गको सहरी खण्डमा सवारीलाई बढीजसो अवरोध हुने गरेको छ।’  

प्रकाशित: १९ जेष्ठ २०८२ १३:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App