१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

सृष्टिको ‘दृष्टि’

उनी आफैँ दृष्टिविहीन हुन् तर उनी मुलुकभरका दृष्टिविहीनको सहारा हुन्। आफ्ना कर्मले सम्पूर्ण दृष्टिविहीनका आँखाको नानी बनेकी भक्तपुरकी सृष्टि केसी आफैँले भने जेठ १४ गतेबाट ‘नयाँ दृष्टि’ पाएकी छिन्। १६ वर्षको उमेरमा आँखाको ज्योति गुमाएकी सृष्टिले सिन्धुली दुधौलीका रौनक थापासँग वैवाहिक बन्धमा गासिएसंगै जीवनमा ‘रौनकता’ छाएको सुनाउँछिन्।

‘मैले सोचेजस्तै जीवन साथी पाएको छु,’ सृष्टिले भनिन्, ‘उहाँले मेरो वर्तमान अवस्थालाई सहज रूपमा स्वीकार गर्दै जीवनसाथी चुनेकोमा हर्षित छु।’

सृष्टिलाई जीवन साथी चुन्न पाएकोमा रौनक पनि खुसी छन्। सृष्टिको जीवनशैली भिडियोमार्फत नियालेका उनले दृष्टिविहीन महिलामा देखिएको जीवनप्रतिको आशावादीताले आफूलाई उति बेलै लोभ्याएको सुनाए। ‘उनले अपाङ्गताप्रति समाजले देखाउँदै आएको पुरानो सोचलाई नै बदल्दै आएको देखेँ,’ रौनकले भने, ‘उनको त्यही आत्मबलले नै मलाई उनीप्रति नजिक गरायो।’  

पेसाले नेचुरोपेथिक चिकित्सक रौनकले सृष्टिले आँखा नदेख्नुलाई पनि प्रकृतिको सामान्य अवस्था ठान्छन्। ‘सृष्टिले आफ्नो कमजोरीलाई बलको रूपमा बद्लिन्,’ उनी भन्छन्, ‘यहीबाट सृष्टिको जीवन सबैको लागि प्रेरणादायी बन्यो।’  

सृष्टिलाई आफूले बुझे पनि आफ्नो परिवारलाई बुझाउन भने केही समय लागेको रौनकले सुनाए। ‘उसलाई विहे गरेपछि मेरो जीवनमा उल्झन आउने हो कि भन्ने परिवारमा डर थियो,’ उनले भने, ‘सृष्टिको बारेमा सबै कुरा बुझेपछि घर परिवार झनै ढुक्क भएका छन्।’  

रौनकको परिवारसँगको भेटपछि सृष्टि पनि खुसी छिन्। ‘परिवारले पनि राम्रोसँग स्वीकारेको छ,’ उनले भनिन्, ‘बाहिरबाट कसैले केही कुरा काट्यो भने पनि केही पिर नमान्नु भन्नु भएको छ।’  

विवाहको दिन रौनकले देखाएको व्यवहारले आफूलाई निकै प्रभावित बनाएको सृष्टिले सुनाइन्। ‘उहाँ मलाईँ कस्तो रङको माला, कस्तो कपडा, कस्तो पोते लगाउँदै छु, सबै एक-एक गरी वर्णन गर्नुहुन्थ्यो,’ उनले भनिन्, ‘मेरो लागि उहाँ साँच्चिकै ‘दृष्टि’ भएर आएको महसुस भयो।’

को हुन् सृष्टि केसी?  

दृष्टिविहीनको क्षेत्रमा फरक तरिकाले सहयोग गर्दे आएकी सृष्टिलाई धेरैले आशाको किरणको रूपमा चिन्छन्। 

दृष्टिविहीनलाई सेतो छडी र ब्रेल लिपि धेरैले दिँदै आएका थिए तर उनले दृष्टिविहीनलाई उत्साह र सीपको सहारा दिँदै छिन्। निराश उनीहरूलाई जागरूक बनाउने अभियानमा छिन्।  

दृष्टिविहीन पनि नाच्न सक्छन् भन्दै नृत्य सिकाउन तल्लीन छिन् उनी। आफूले नदेखे पनि अरूले देख्ने छन् भनेर राम्री बन्न सिकाएकी छिन्। दृष्टिविहीनले भोग्दै आएको निरस जीवनलाई उनले उमङ्गपूर्ण बनाउन सिकाइन्। यसका लागि उनले सन् २०१४ मा ‘ब्लाइन्ड रक्स’ नामक संस्था पनि खोलिन्।

'मोटिभेसनल स्पिकर'का रूपमा अन्तर्राष्ट्रिय स्तरमै नाम कमाएकी सृष्टिले हिम्मत नहारे जस्तोसुकै कठिन परिस्थितिबाट पनि अगाडि बढ्न सक्ने बताउँछिन्। भक्तपुरकी सृष्टिले एसएलसी परीक्षा दिए लगत्तै २०६५ सालमा आँखा देख्न छाडेकी हुन्। आँखा गुमाएपछिका जीवनका हरेक परीक्षामा प्रथम हुँदै आएको उनले सुनाइन्। २०६९ सालमा पनि नेपाली साहित्यमा टियु टप गरेर स्नातक पूरा गरिन्। ‘बरू म आँखा देख्दा कहिल्यै ‘फर्स्ट’ भइनँ,’ उनले भनिन्, ‘तर दृष्टिविहीन भएपछि कहिल्यै सेकेन्ड हुनुपरेन।’

सन् २०१५ मा युरोपेली महासङ्घको नियमित कोटाबाट उनी ‘कोरियोमन्ड्स इन्टरनेसनल जाइन्ट्स मास्टर्स डिग्री इन डान्स एन्थ्रोपोलिजिका’ गरिन्। यो कोर्स गर्ने उनी विश्वको पहिलो र एक मात्र दृष्टिविहीन हुन्। उनको जीवन कथालाई आधार बनाएर सन् २०१८ मा वेनिशा हमाल अभिनित 'ब्लाइन्ड रक्स' नाम गरेको सिनेमा समेत बनेको छ। 

प्रकाशित: १८ जेष्ठ २०८२ १०:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App