१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

चितुवाले दैनिक आक्रमणले स्थानीयवासी त्रसित

हात्तीको समस्याले प्रभावित मेचीनगर नगरपालिका–२ र ४ मा चितुवाले दैनिक बाख्रा मार्न थालेपछि स्थानीयवासी समस्यामा परेका छन्।

दिनभर चिया बगान र निजी वनमा लुकेर बस्ने चितुवाले साँझ परेपछि खोरबाट बाख्रा र सुँगुर मार्ने गरेको मेचीनगर–२ का वडाध्यक्ष दीपक बरालले बताए। लामो समयदेखि हात्ती र बाँदरको समस्यामा रहेको बाहुनडाँगीमा पछिल्लो १५ दिनयता चितुवाको त्रास थपिएको उनले जानकारी दिए। 

‘हात्तीको नियमित आतङ्क, बाँदरको अस्वाभाविक बिगार खेपिरहेका हामीले फेरि चितुवाको पनि सामना गर्नुपरिरहेको छ,’ वडाध्यक्ष बराल भन्छन्, ‘प्रत्येक दिन खोरबाट बाख्रा, सुँगुर तानेर खाइरहेको छ। अब बालबालिका कसरी जोगाउनु भन्ने चिन्ता छ।’

हालसम्म चितुवाले दुई दर्जनभन्दा बढी खसीबाख्रा र सुँगुर मारेको छ। चिया बगानमा काम गर्ने मजदुर, बिहान–बेलुका बाटो हिँड्ने व्यक्ति र स्कूले बालबालिका चितुवाको सम्भावित आक्रमणबाट त्रसित छन्। ‘अहिलेसम्म खसीबाख्रा मात्र मारिरहेको छ,’ बराल भन्छन्, ‘चितुवाले कुनै पनि बेला बालबालिका, बाटो हिँड्ने र बगानमा काम गर्ने मानिसलाई आक्रमण नगर्ला भन्न सकिने अवस्था छैन।’ मानवीय क्षतिको त्रास बढेपछि चितुवालाई नियन्त्रण गर्न फलामे खोरमा पासो थापिएको उनले बताए।

बरालले डिभिजन वन कार्यालय झापा, जीवजन्तुको क्षेत्रमा काम गर्ने सङ्घसंस्था र व्यक्तिलाई चितुवा नियन्त्रणमा पहल गर्न सामाजिक सञ्जालमार्फत अपिल गरेका छन्। उनले यो क्षेत्रमा दुई वा सोभन्दा बढी वयस्क चितुवा रहेको दाबी गरे।

दुई महिनाअघि मेचीनगर–४ बाहुनडाँगीमा चितुवाले एक दर्जन खसीबाख्रा मारेको थियो। कनकाईस्थित जामनुखाडी सामुदायिक वनबाट फलामे खोर ल्याएर पासो थापिए पनि चितुवा नियन्त्रणमा आउन नसकेको वडाध्यक्ष अर्जुनकुमार कार्कीले बताए।

डिभिजन वन कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठले चितुवाले पशुचौपाया मार्ने गरे पनि मानवीय क्षति नभएको बताए। चितुवा हिँडिरहने जनावर भएकाले इलाम–झापाको सीमावर्ती क्षेत्रमा बस्ने गरेको हुन सक्ने उनको भनाइ छ।

सात वर्षअघि पनि यो क्षेत्रमा चितुवा देखिएको थियो। त्यतिबेला खोरमा पासो थापेर चितुवालाई नियन्त्रणमा लिइएको कार्कीले बताए। बाहुनडाँगी नजिकै भारतीय सीमावर्ती क्षेत्रमा वन्यजन्तु आरक्षण केन्द्र भएकाले त्यहाँबाट कहिलेकाहीँ जङ्गली जनावर आउने गर्छन्। विगतमा निगाले बाघ र गौरी गाईसमेत बाहुनडाँगीमा देखिएका थिए।

प्रकाशित: १८ जेष्ठ २०८२ ०८:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App