१९ माघ २०८२ सोमबार
image/svg+xml
समाज

पत्रकार महासंघद्वारा सञ्चारिका समूहका पदाधिकारीलाई सम्मान

नेपाल पत्रकार महासंघ महिला समिति र न्यूनतम पारिश्रमिक निर्धारण समितिले सञ्चारिका समूहको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सम्मान गरेका छन्।  

महिला विभाग प्रमुख तथा महासंघकी उपाध्यक्ष नितु पण्डितले सञ्चारिका समूहका नवनिर्वाचित पदाधिकारीलाई सम्मान गर्दै पत्रकार महिलाले सञ्चार माध्यममा भोग्नुपरेका समस्याबारे विभागले तथ्याङ्क संकलन गरी समाधानको उपाय खोज्ने बताइन्।  

कार्यक्रममा सञ्चारिकाकी अध्यक्ष कमला पन्थी, उपाध्यक्ष बसन्ती बासतोला, महासचिव राधा खनाल, कोषाध्यक्ष साजना तामाङ लगायतले पत्रकार महिलाको क्षमता वृद्धि गर्न प्रविधिमैत्री तालिम आवश्यक रहेको बताए।  

‘पत्रकार महिलाहरू आफ्नो क्षेत्रमा सक्षम छन्, तर नेतृत्व तहमा पुग्न अझै चुनौतिहरू थपिँदै गएका छन्,’ वरिष्ठ पत्रकार बबिता बस्नेतले भनिन्, ‘त्यसैले पत्रकारका पेशागत संगठन, पत्रकार महासंघ, सञ्चारिका लगायतले महिला पत्रकारको सेवा सर्त, करियर विकासमा काम गर्नुपर्छ।’ उनले थपिन्, ‘सकारात्मक सोचसहित काम गर्न सके सफलता प्राप्त गर्न सकिन्छ।’  

महासंघकी अध्यक्ष निर्मला शर्माले पत्रकार महिलाको संख्यात्मक वृद्धि भए पनि पेशामा टिक्न हाल मुख्य चुनौती रहेको बताइन्। ‘मिडिया हाउस चलेका छन्, तर काम गर्ने पत्रकारलाई पारिश्रमिक दिँदैनन्। नियमित तथा न्यूनतम पारिश्रमिक नपाउँदा पत्रकारिता पेशा नै संकटमा परेको छ,’ अध्यक्ष शर्माले भनिन्, ‘त्यसमा पनि महिला पत्रकारहरू बढी समस्यामा परेका छन् भन्ने गुनासा महासंघमा आएका छन्।’ 

उनले थपिन्, ‘एकात्मक पत्रकारितामा महिला पत्रकारको संख्या पहिले नै कम छ, त्यसमा पनि यदि अवस्था यस्तो नै रह्यो भने धेरै महिला पत्रकार विस्थापित हुनेछन्। त्यसैले राज्य तथा सम्बन्धित निकायले पत्रकार महिलाको पेशागत सुरक्षा तथा हितका लागि काम गर्नु आवश्यक छ।’  

न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगिता खड्काले समितिमा मिडिया हाउसहरूले पत्रकारलाई न्यूनतम तथा नियमित तलब नदिएको धेरै उजुरी प्राप्त भएको जानकारी दिइन्। ‘अब केही दिनमा समितिले टिम बनाएर मिडिया हाउसहरूको अनुगमन गर्ने योजना बनाएको छ,’ अध्यक्ष खड्काले भनिन्, ‘मिडिया हाउसले न्यूनतम पारिश्रमिक लागू गरे/नगरेको अनुगमन गरी न्यूनतम पारिश्रमिक नदिने तथा नियमित तलब नदिने संस्थालाई कानूनी दायरामा ल्याउनेछौं।’

प्रकाशित: १६ जेष्ठ २०८२ १९:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App