४ चैत्र २०८२ बुधबार
image/svg+xml
अर्थ

आयल निगमले भन्यो- काठमाडौंमा ग्यासको अभाव छैन, अनावश्यक भण्डारण नगर्नू

नेपाल आयल निगमले काठमाडौं उपत्यकामा खाना पकाउने ग्यास (एलपी ग्यास) को अभाव नरहेको स्पष्ट पारेको छ।

बजारमा ग्यासको अभाव भएको भन्दै गुनासो आएपछि सोमबार एक विज्ञप्ति जारी गर्दै निगमले आपूर्ति प्रणाली सामान्य रहेको जनाएको हो।

आसन्न निर्वाचन र बजारको मागलाई मध्यनजर गर्दै निगमले फेब्रुअरी महिनाका लागि साविकको कोटामा २ हजार मेट्रिक टन ग्यास थप भएको जनाएको छ।

निगमले बजारमा ग्यासको हाहाकार नभई केही एकाध उद्योगका सिलिन्डरमा मात्र कमी देखिएको प्रष्ट पारेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘केही उद्योगको ग्यास सिलिन्डर अभाव देखिएकोले ती उद्योगलाई बजारमा आपूर्ति सहज गराई बजार सामान्यीकरण गर्न निर्देशन दिइसकेका छौं। केही समयभित्रै आपूर्ति सामान्य हुनेछ।’

निगमले विगत तीन महिनाको आयात तथ्यांक प्रस्तुत गर्दै जाडोयामको माग धान्न आयात पर्याप्त रहेको दाबी गरेको छ। उक्त परिमाण जाडोयामको माग धान्न सक्ने खालको भएको निगमले उल्लेख गरेको छ।

आसन्न निर्वाचनलाई समेत ध्यानमा राख्दै निगमले फेब्रुअरी महिनाका लागि थप २ हजार मेट्रिक टन ग्यास आयात गर्ने व्यवस्था मिलाएको छ।

इन्डियन आयल कर्पोरेसन (आईओसी) का विभिन्न रिफाइनरी तथा बोटलिङ प्लान्टबाट आयात गर्नका लागि उद्योग अनुसारको कोटा पठाइसकिएको निगमले जनाएको छ।

निगमले आम उपभोक्तालाई हल्लाको पछि नलाग्न, आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न समेत आग्रह गरेको छ।

प्रकाशित: १९ माघ २०८२ १९:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App