सरकारको भर नपरी भक्तपुरको तुमुचो–दुगुरे–चोखाका बासिन्दाले आफ्नै प्रयासमा खानेपानीको व्यवस्था मिलाएका छन्। भक्तपुर नगरपालिका वडा नं. ९ का स्थानीयले पानीको स्रोत पहिचान गरी घरघरमा धाराको पाइपलाइन जडान गरेर तीन वर्षदेखि खानेपानीको व्यवस्था गर्दै आएका छन्। यसले ट्यांकरको पानी किन्नुपर्ने बाध्यताबाट उनीहरूलाई ठूलो राहत मिलेको छ।
स्थानीयले तुमुचो–दुगुरे–चोखा आवास क्षेत्र खानेपानी उपभोक्ता समिति गठन गरेका छन्। समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले भक्तपुर नगरपालिका र बागमती प्रदेश सांसद सुरेन्द्रराज गोसाईको विकास बजेटबाट प्राप्त रकमले पूर्वाधार बनाएर खानेपानीको व्यवस्था मिलाएको बताए।
बिहीबार तुमुचो–दुगुरे–चोखा आवास क्षेत्र खानेपानी उपभोक्ता समितिको तेस्रो बृहत् उपभोक्ता भेला गोसाईले उद्घाटन गरे। साधारणसभामा ज्याख्वले कार्यालय सञ्चालन भएको र दुई कर्मचारीले ४६५ घरधुरीको मिटर रिडिङ, मासिक शुल्क संकलन र अन्य सबै कामको व्यवस्था मिलाएको जानकारी दिए।
समितिका अनुसार, यो क्षेत्रमा घर र टहरा गरी ५५० घरधुरी छन्। एक घरधुरीमा औसत १२ जना (डेरावालासहित) छन्। यस हिसाबले यहाँ करिब ६ हजार जनसंख्या छन्। यो जनसंख्यालाई खानेपानी पुगिरहेको छ। साथै, बागीश्वरी मावि, ख्वप अस्पताल, जिल्ला अदालत, मालपोत, भूमिसुधारलगायतका सरकारी कार्यालय पनि यही खानेपानीबाट सञ्चालित छन्।
समितिकी कोषाध्यक्ष तथा भक्तपुर नगरपालिका वडा नं. ९ की महिला वडा सदस्य छोरीमैया सुजखूले अरूको मुख नताकी आफ्नै प्रयासमा खानेपानी समस्या समाधान गरेको बताइन्। दुई ठाउँमा बोरिङ गरेर पानी उत्पादन गरी घरघरमा पाइप विस्तार गरेर वितरण गरिएको उनले जानकारी दिइन्।
उनका अनुसार, प्रतिधारा मासिक ३०० रुपैयाँ शुल्क लाग्छ। जडानका लागि प्रतिधारा २० हजार रुपैयाँ तिर्नुपर्छ। आर्थिक वर्ष २०८१/०८२ को जेठ १३ सम्म समितिले उपभोक्ताबाट २० लाख ३८ हजार ९० रुपैयाँ संकलन गरेको छ। जसमा युनिट महसुलबाट १३ लाख ३२ हजार ६००, ३५ नयाँ दर्ताबाट २० हजारको दरले ७ लाख, फारम र मर्मतबाट ५ हजार ४९० र मौज्दात रकमको व्याजबाट १ लाख ५२ हजार ६६५ रुपैयाँ आम्दानी भएको उनले बताइन्।
वैशाख २०८२ सम्मको हिसाबमा तलब शीर्षकमा २ लाख, जग्गा भाडामा ३८ हजार ७५०, प्लम्बिङ सामग्रीमा ८५ हजार ५००, विद्युत् महसुलमा ४ लाख ५५ हजार १०७ र पानी शुद्धीकरणका लागि क्लोरिन खरिदमा ८७ हजार ५७३ सहित विभिन्न शीर्षकमा खर्च भएको विवरण उनले सार्वजनिक गरिन्।
कार्यक्रममा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) भक्तपुर शाखा वितरण प्रमुख अनिलकुमार क्षेत्रीले स्थानीयको मिहिनेतबाट खानेपानी व्यवस्था भएको भन्दै प्रशंसा गरे।
प्रकाशित: १५ जेष्ठ २०८२ १८:१६ बिहीबार





