सिरहाको गोलबजार नगरपालिकामा भइरहेको काम गुणस्तरहीन भएको भन्दै विरोध गर्ने एक एक स्थानीय युवक मधेस प्रदेशका स्वास्थ्यमन्त्री शत्रुधन सिंह कोइरीका स्वकीय सचिव सतिशचन्द्र सिंहबाट कुटिएका छन् ।
गोलबजार नगरपालिका–६, डोहटिया टोलका ३४ वर्षीय नारायण ठाकुर मन्त्री कोइरीका स्वकीय सचिव सतिशचन्द्र सिंहबाट कुटिएका हुन्। उनको अहिले गोलबजारकै लाईफलङ्ग पोलिक्लिनिकमा उपचार भइरहेको छ ।
ठाकुरमाथि सोमबार साँझ साढे ८ बजे मधेस प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंहका स्वकीय सचिव सतिशचन्द्र सिंहसहितका व्यक्तिले कुटपिट गरेको उनका परिवारले बताए ।
डोहटिया गाउँमा मधेस प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट प्राप्त रकममध्ये ३० लाख रुपैयाँको बजेटमा निर्माण भइरहेको नालाको कामको गुणस्तरमाथि ठाकुरले प्रश्न उठाएका थिए । गुणस्तरहीन काम सच्याउनुपर्ने भन्दै ठाकुरले आवाज उठाएका थिए । ठाकुरका अनुसार नाला निर्माण गर्दा माटोको लेबल नमिलाइएको तथा गिट्टीको मात्रा पनि कम प्रयोग भएको देखेपछि सच्याएर मात्र काम अघि बढाउन भन्दा उनीमाथि कुटपिट भएको थियो ।
निर्माणमा रड कवाडीबाट ल्याएर प्रयोग गरेको ठाकुरको दाबी छ । उक्त काम स्थानीय एमाले कार्यकर्ता श्यामकुमार यादवको अध्यक्षतामा गठन गरिएको उपभोक्ता समितिबाट सिंह लगायतकै संलग्नतामा भइरहेको उनको दाबी छ । आफूले गुणस्तरहीन काम भइरहेको बारे नियामक निकायलाई समेत जानकारी गराएको उनले बताए ।
तर, नियामक निकाय पूर्वाधार विकास कार्यालय सिरहामा गुनासो गरेको १५ मिनेटपछि स्वास्थ्य मन्त्रीका स्वकीय सचिव सिंहले आफूलाई फोन गरी निर्माण स्थलमा बोलाएको र गालीगलौज गर्दै कुटपिट गरेको ठाकुरले सुनाए ।
पेट, पिठ्युँ र टाउकोमा चोट लागेर घाइते ठाकुरले प्रहरीलाई समेत घटनाबारे जानकारी गराएको बताए । ‘मुक्का प्रहार गरेकोले भित्र चोट छ,’ उपचाररत उनले भने, ‘ डाक्टरले अहिले अवजरभेसनमा बस्नुपर्छ भनेका छन् ।’
यता, सतिशचन्द्र सिंहले आफूले कुटपिट नगरेको दाबी गरेका छन् । ‘मैले कुटेको होइन, बरु उनलाई बचाएको हुँ,’ सिंहले भने, ‘यो त्यति ठूलो कुरा होइन, यस्तो भइरहन्छ ।’
घटनाबारे पीडितको जानकारी प्राप्त भएको र यसबारे विस्तृत बुझ्ने प्रक्रिया अघि बढिरहेको इलाका प्रहरी कार्यालय, गोलबजारले जनाएको छ ।
प्रकाशित: १३ जेष्ठ २०८२ १६:३६ मंगलबार





