पछिल्लो एक महिनामा देशभर आगलागीका कारण ११ जनाको मृत्यु भएको छ। मृतकमा तीन पुरुष, पाँच महिला, दुई बालक र एक बालिका छन्।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले वैशाखको तथ्यांक विश्लेषण गर्दा आगलागीबाट ६७ जना घाइते भएको जानकारी दिए। घाइतेमा २७ पुरुष, ३२ महिला र आठ बालबालिका छन्।
उनले आगलागीका घटना बढ्दा ठूलो भौतिक र मानवीय क्षति भएको बताए। नागरिक सचेत भए धेरै घटना रोक्न सकिने उनको भनाइ छ। प्रहरीका अनुसार एक महिनामा आगलागीबाट १५१ घर, १०१ गोठ र तीन सरकारी कार्यालयमा क्षति पुगेको छ। आगलागीमा १८९ पशुचौपाया पनि मरेका छन्।
आगलागीका घटनाबाट २४ करोड १९ लाख ५९ हजारभन्दा बढीको आर्थिक क्षति भएको प्रहरी तथ्यांकमा छ। आगलागीका कारण ११० परिवार विस्थापित भएका छन्। एक महिनामा ६३४ आगलागीका घटना भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
कुन प्रदेशमा कति आगलागी?
प्रहरीका अनुसार वैशाखमा सबैभन्दा बढी आगलागी लुम्बिनी प्रदेशमा भएको छ। उक्त प्रदेशमा १४३ आगलागीका घटना भए। कोशी प्रदेशमा १३६, मधेश प्रदेशमा १०४, बागमतीमा ६४, काठमाडौँ उपत्यकामा ३२, गण्डकीमा ५३, कर्णालीमा ४३ र सुदूरपश्चिममा ५९ आगलागीका घटना भएका छन्। विज्ञहरूका अनुसार धेरैजसो आगलागी मानवीय कारणले हुने गरेको छ। रासस
प्रकाशित: १३ जेष्ठ २०८२ १२:१२ मंगलबार





