१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

जुरो नभएको लुलु गाई संरक्षणमा चुनौती : हिमाली क्षेत्रमा लोप हुने खतरा

हिमाली जिल्ला मुस्ताङ, मनाङ र डोल्पामा पालिने विभिन्न गाई प्रजातिमध्ये लुलु गाई एक हो। पारिस्थितिक प्रणालीमा महत्वपूर्ण योगदान पुर्‍याउने लुलु गाई पछिल्लो समय लोपोन्मुख अवस्थामा छ।

जुरो नभएको स्थानीय गाईको जात लुलु गाई हो। अन्य गाईभन्दा होचो कद हुने यो गाई समुद्री सतहदेखि २ हजार ५०० मिटरमाथिको उचाइमा पालिन्छ। 

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख र पशु चिकित्सक डा. लालमणि अर्यालले मुस्ताङमा परम्परागत रूपमा पालिँदै आएको लुलु गाई लोपोन्मुख अवस्थामा रहेको बताए। दश वर्षअघि मुस्ताङमा १० हजार भन्दा बढी लुलु गाई रहेकोमा अहिले पाँच पालिकामा जम्मा ६ हजारको हाराहारीमा छन्। ‘मुस्ताङमा लुलु गाई पाल्ने संख्या बर्सेनि घट्दैछ, यसको संरक्षणमा किसानले चासो दिएका छैनन्,’ डा. अर्यालले भने, ‘दूध उत्पादन कम हुने र अन्य अवसरका कारण लुलु गाईको संरक्षणमा ध्यान पुगेको छैन।’

मुस्ताङका किसानले मल र थोरै दूधका लागि लुलु गाई पाल्छन्। तर, अन्य गाईको तुलनामा कम दूध दिने भएकाले किसानले यसलाई बेवास्ता गरेको घरपझोङ गाउँपालिकाका पशु शाखा प्रमुख आइतलाल थकालीले बताए। ‘किसानहरू लुलु गाई जोगाउन संवेदनशील छैनन्, यो चिन्ताको विषय हो,’ उनले भने, ‘गाउँपालिकाले संरक्षणका लागि प्रोत्साहन र सहयोग गरिरहेको छ।’ 

लुलु गाई मुस्ताङको परम्परा र संस्कृतिको जैविक आयाम हो। तर, जैविक विविधता र संस्कृतिमा असर पुगेजस्तै लुलु गाई लोप हुने खतरा बढेको थकालीले बताए। जिल्लामा लुलु गाई पाल्ने व्यवसाय कृषिमा मात्र सीमित छ। 

सडक सञ्जाल र प्रविधिको विकाससँगै किसानले लुलु गाई पाल्न छाडेका छन्। घरपझोङका किसान अजित थकालीले भने, ‘अन्य पशुको तुलनामा लुलु गाईलाई बेवास्ता गरिएको छ, जथाभावी छाड्ने गरिएको छ,’ उनले भने, ‘कृषि र होटल व्यवसायमा लागेपछि किसानले लुलु गाई पाल्न छाडे।’ पहिले एक घरमा १०–१२ लुलु गाई हुनेमा अहिले एकटा पनि नहुने अवस्था आएको उनले बताए। कृषि र पर्यटनको विकाससँगै संरक्षणप्रति चासो घटेको उनले सुनाए। 

लुलु गाईले दिनमा अधिकतम एक लिटर दूध दिन्छ। कम दूध, बढी श्रम र लागतका कारण यो गाई लोपोन्मुख भएको हो। पाठापाठीको संरक्षण नहुँदा कुकुर र हिउँ चितुवाले खाने गरेको छ। जलवायु परिवर्तनले पानीका मुहान सुक्दा र चरन क्षेत्रमा घाँस घट्दा किसानले लुलु गाईलाई सडक र गल्लीमा छाड्ने गरेका छन्। यस्ता गाईले कागज र फ्याँकिएका खानेकुरा खाएर आहारा पूर्ति गर्छन्। सुन्दरकुमार थकाली/रासस

प्रकाशित: १२ जेष्ठ २०८२ ०८:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App