१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

‌ओझेलमा पर्यटनको सम्भावना बोकेको ‘चमेरे गुफा’

पर्यटनको सम्भावना रहेको इलामको माङसेबुङ गाउँपालिका–२ इभाङस्थित चमेरे गुफा ओझेलमा परेको छ। देउमाई खोलाको किनारसँगै पहाडको फेदीमा रहेको चमेरे गुफाको उचित प्रचारप्रसार हुन सकेको छैन।

पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिएको चमेरे गुफामा पूर्वाधार निर्माण, संरक्षण र प्रवर्द्धन गर्न नसकिएको स्थानीय पृथीमान जवेगूले बताए।

स्थानीयले २० वर्षअघि पत्ता लगाएको गुफाको संरक्षण र प्रवर्द्धनका लागि सरकारी निकायको ध्यान नगएको उनको भनाइ छ। यो गुफा जिल्लाकै प्रमुख धार्मिकस्थल गजुरमुखी धामदेखि एक किलोमिटर दुरीमा मात्र अवस्थित छ।

प्राकृतिक रूपमा सुन्दर र आकर्षक छ, चमेरे गुफा। 'चमेरे गुफालाई पर्यटकीय गन्तव्य बनाउन यसको संरक्षण र प्रवर्द्धनसँगै प्रचारप्रसार गर्न आवश्यक छ', जवेगुले भने, 'त्यसो गर्न सकिएमा पर्यटकको उपस्थिति हुने सम्भावना छ।'

देवताका पालामा गजुरमुखी देवीलाई भेट्न आउँदा महादेवले सो गुफामा बास बसेको किवदन्ती प्रचलित छ। पछिल्लो समय गुफामा हुलका हुल चमेरा भेटिने भएकाले सो गुफाको नाम चमेरे गुफा राखिएको स्थानीय हिमाकुमारी अधिकारीले बताइन्।

गुफा फराकिलो छ। गुफाको प्रवेशद्वारदेखि भित्री भागसम्म चट्टानी संरचना देख्न सकिन्छ। खोलाको किनारमा चट्टानले बनेको संरचनाले यो गुफा भूगर्भीय अध्ययनको दृष्टिले रोचक छ। गुफा करिब ४० देखि ५० जना मानिस अट्न सक्ने आकारमा।

तत्कालीन लिम्बूवानका राजाहरूले आफ्ना सेनालाई सेल्टरको रुपमा यस गुफामा राख्ने गरेको बताइन्छ। माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले यस वर्षदेखि पालिकाभित्रका सबै ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रको संरक्षण र संवर्द्धनका लागि योजनाबद्ध काम गरिने बताए।

'यसवर्षदेखि हामी नीति तथा कार्यक्रममा समेटर ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रको संरक्षण र संवर्द्धनको योजनाबद्ध रूपमा काम गर्नेछौँ', अध्यक्ष राईले भने।

माङसेबुङ–२ का वडाध्यक्ष कृष्णबहादुर बस्नेतले चमेरे गुफाको प्रवर्द्धन गर्न आगामी दिनमा वडाको विशेष ध्यान जाने बताए।

प्रकाशित: १० जेष्ठ २०८२ १५:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App