नेपाल पूर्वसशस्त्र प्रहरी संघले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका सशस्त्र प्रहरी नायव निरीक्षक दन्तबहादुर छत्याल र पूर्व सशस्त्र प्रहरी हवल्दार अक्कलबहादुर बोहोरालाई सम्मान गरेको छ।
संघका अध्यक्ष अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापाले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा जेठ ९ गते नायव निरीक्षक छत्याल र बोहोरालाई नगद पुरस्कार र सम्मानपत्रसहित सगरमाथा सफल आरोहणको हार्दिक बधाई समेत दिएका थिए।
कार्यक्रममा उनीहरूलाई अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरू सनतकुमार बस्नेत, शैलेन्द्र श्रेष्ठ र सिंहबहादुर श्रेष्ठ लगायतले स्वागत तथा सम्मान गरेका थिए।
यसअघि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले जेठ ८ गते प्रधान कार्यालयमा सशस्त्र प्रहरी सहायक निरीक्षक छत्याललाई एक तह बढुवाको दर्ज्यायनी चिह्न प्रदान गर्नुका साथै सगरमाथा सफल आरोहणको हार्दिक बधाई समेत दिएका थिए। सगरमाथाको सफल आरोहण गरी साहसिक कार्य गरेवापत छत्याललाई सशस्त्र प्रहरी सहायक निरीक्षकबाट सशस्त्र प्रहरी नायव निरीक्षक पदमा पदोन्नति गरेको हो।
नायव निरीक्षक छत्यालले जेठ ४ गते बिहान ९ः२० बजे सगरमाथाको चुचुरोमा 'सगरमाथा सम्वाद' र सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराएका थिए भने पूर्व सशस्त्र प्रहरी हवल्दार बोहोराले गत वैशाख ६ गते बिहान ८ः५८ बजे सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराएका थिए।
सगरमाथा आरोहणको लागि नायव सशस्त्र प्रहरी निरीक्षक छत्याल वैशाख १५ गते र पूर्व सशस्त्र प्रहरी हवल्दार बोहोरा चैत २८ गते त्यसतर्फ प्रस्थान गरेका थिए।
सम्मापन कार्यक्रममा पूर्व सशस्त्र प्रहरी संघका पदाधिकारीहरू तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो।
प्रकाशित: ९ जेष्ठ २०८२ १३:४६ शुक्रबार