८ असार २०८२ आइतबार
image/svg+xml
समाज

पत्रकारको हत्या र मिडियामाथि आक्रमण : उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

नेपाल पत्रकार महासंघले पत्रकार सुरेश रजकको रहस्यमय हत्याको स्वतन्त्र छानविन गरी सत्यतथ्य पत्ता लगाएर दोषीलाई कारबाही गर्न उच्चस्तरीय स्वतन्त्र छानविन समिति गठनको माग गरेको छ।

महासंघका कार्यवाहक अध्यक्ष दीपक आचार्य नेतृत्वको टोलीले सोमबार गृहमन्त्री रमेश लेखकलाई भेटी काठमाडौँको तीनकुनेमा चैत १५ मा भएको पत्रकार हत्या र मिडियामाथिको आक्रमणबारे गठित अध्ययन समितिको प्रतिवेदन बुझाउँदै यस्ताे माग गरेकाे हाे। महासंघले छानविन समिति गठनमा ढिलाइ नगर्न आग्रह गरेको छ। पत्रकार रजक आन्दोलनकारी नभई कार्यस्थलमा मारिएको भन्दै उनलाई सहिद घोषणा गरी परिवारको सामाजिक सुरक्षा सुनिश्चित गर्न माग गरेको छ।  

‘पत्रकार रजक आन्दोलनकारी होइनन्, कार्यस्थलमा खटिएका श्रमजीवी पत्रकार हुन्। काम गर्दागर्दै उनको ज्यान गुमेको छ। त्यसकारण सरकारले पत्रकार रजकलाई आन्दोलनकारीभन्दा फरक व्यवहार गर्नुपर्छ,’ महासंघले भनेको छ, ‘रजकलाई शहीद घोषणा गरी सम्मानजनक राहत र उनको परिवारको सुरक्षाको जिम्मेवारी सरकारले लिनुपर्छ।’  

महासंघले तीनकुनेमा प्रदर्शनका क्रममा भएको तोडफोडबाट क्षति व्यहोरेका सञ्चारगृहलाई क्षतिपूर्ति र भयमुक्त वातावरणमा काम गर्ने सुरक्षा सुनिश्चित गर्न माग गरेको छ। साथै, प्रेस स्वतन्त्रता उल्लंघनका बढ्दो घटना, सञ्चार क्षेत्रका नयाँ चुनौती समाधान र नीतिगत सुधारका लागि वरिष्ठ पत्रकार र विज्ञसहितको सुझाव समिति गठन गर्न माग गरेको छ।  

‘पत्रकारको भौतिक, पेशागत र सामाजिक सुरक्षासम्बन्धी व्यवस्था लागू भए/नभएको अनुगमन गरी सुनिश्चित गर्नुपर्छ। लागू नगर्ने सञ्चारगृहविरुद्ध कडा कदम चाल्न माग गर्छ,’ महासंघले भनेको छ।  

महासंघले प्रेस स्वतन्त्रतासम्बन्धी घटनाको उपचारका लागि छुट्टै कानून बनाउन माग गरेको छ। ‘प्रेससम्बन्धी कानून बनाउँदा पूर्ण प्रेस र अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी संवैधानिक व्यवस्थालाई ध्यानमा राखी प्रेसमैत्री कानून बनाउनुपर्छ,’ महासंघले भनेको छ।  

महासंघले संसद्मा छलफलमा रहेका सामाजिक सञ्जाल र मिडिया काउन्सिल विधेयकलाई सरोकारवालाको सुझावअनुसार अगाडि बढाउन, पत्रकारको भौतिक सुरक्षासम्बन्धी नीति बनाउन, श्रमजीवी पत्रकार ऐन संशोधन गर्न, न्यूनतम पारिश्रमिक वृद्धि गर्न र ऐन कार्यान्वयनमा कडाइ गर्न माग गरेको छ। हालको पत्रकार दुर्घटना बीमा पर्याप्त नभएकाले सञ्चारगृहले पत्रकारलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य आवद्ध गराउने नीति बनाउनुपर्ने माग पनि गरेको छ।  

प्रतिवेदन बुझ्दै गृहमन्त्री लेखकले महासंघको प्रतिवेदन अध्ययन गरी कार्यान्वयनका लागि पहल गर्ने बताए। उनले पत्रकार रजकको हत्याको गम्भीर छानविन भइरहेको र दोषीमाथि फौजदारी कानुनअनुसार कारबाही अघि बढ्ने बताए।  

चैत १५ को घटनापछि महासंघले उपाध्यक्ष उमिदप्रसाद बागचन्दको संयोजकत्वमा सचिवहरू प्रकाश धौलाकोटी, रमेश खतिवडा, सोनी शर्मा, सविन प्रियासन, वैकुण्ठ पराजुली र अशोक तिवारी सम्मिलित अध्ययन समिति गठन गरेको थियो। 

प्रकाशित: ५ जेष्ठ २०८२ २१:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App