८ असार २०८२ आइतबार
image/svg+xml
समाज

सगरमाथा संवादको २५ बुँदे आह्वान : पर्वत र जलवायु परिवर्तनमा वहुसरोकार मञ्च जरुरी

सगरमाथा संवादले पर्वत र जलवायु परिवर्तन बिषयमा अन्र्तराष्ट्रिय स्तरको बहुसरोकार–मञ्चको स्थापना गर्न सुझाव दिएको छ । काठमाडौंमा ३ दिनसम्म चलेको संवादको समापनमा आइतबार जारी गरिएको ‘सगरमाथा कार्य आव्हान अर्थात् ‘सगरमाथा कल फर एक्सन’मा यो आवश्यतालाई औंल्याइएको हो ।

‘पर्वतीय समुदायको आवाजलाई विश्वव्यापी जलवायु प्रक्रियामा थप सशक्त पार्न आपसी छलफल, नवप्रवर्तन र सशक्तीकरणका लागि हिमाल र जलवायु परिवर्तन बिषयमा बहु–सरोकारवाला अन्र्तराष्ट्रिय मञ्चको स्थापना गर्न आवश्यक छ,’ उक्त २५ बुँदे दस्तावेजमा भनिएको छ ।  

दस्तावेजमा जलवायु परिवर्तनका गम्भीर असरहरूलाई सम्बोधन गर्न तत्काल सशक्त कदम चाल्न विश्व समुदायलाई आग्रह गरिएकोछ ।  नेपालले पहिलो पटक आयोजना गरेको सगरमाथा संवादको  पहिलो संस्करण ‘जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य’ विषयमा केन्द्रित थियो ।  

सगरमाथा संवादले विकासशिल र विशेष अवश्थामा रहेका राष्ट्रलाई अनुदान र विशेष सहुलियतमा जलवायु वित्त परिचालन गर्न पनि आब्हान गरेको छ । विशेष गरी पर्वतीय क्षेत्रको विकासका लागि ‘लक्षित कोष’ स्थापना गर्न पनि संवादको जोड  छ ।  

बिभिन्न देशका १७५ प्रतिनिधि, जलवायु विज्ञ, नीति निर्माता र सरोकारवाला सहित कुल ३५० जनाको सहभागिता रहेको उक्त सवादले जलवायु परिवर्तनलाई ‘अभूतपूर्व चुनौती’ स्वीकार गर्दै औद्योगिक क्रान्ति शुरु हुनु अघिको तुलनामा विश्वको तापमानलाई १.५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम वृद्धि हुन नदिन ‘तत्काल पहल’  गर्न जोड दिएको छ ।  

यसैगरी, तापमान बढोत्तरीलाई रोक्न राष्ट्रिय निर्धारित योगदान (एनडीसी) लाई अझ महत्वाकांक्षी बनाउन र राष्ट्रिय अनुकूलन योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै देशहरूलाई सवादले आह्वान गरेको छ ।  

हिमनदीहरूको संरक्षण, पर्वतीय पारिस्थितिक प्रणालीको महत्व र यसले पु¥याउने वातावरणीय सेवाहरूको कदर गर्नुपर्ने  बिषयलाई पनि कार्य आह्वानमा प्राथमिकता दिइएको छ । निजी क्षेत्र र कार्बन बजारलाई समेत जलवायु कार्यमा  सहभागी गराउनुपर्ने र जलवायु–मैत्री प्रविधिहरूको विकास तथा हस्तान्तरणका लागि विश्वव्यापी साझेदारीलाई सुदृढ गर्नुपर्ने आवश्यकता पनि दस्तावेजमा औंल्याइएको छ ।  

संवादले नीति निर्माता, वैज्ञानिक समुदाय, निजी क्षेत्र र अन्य सरोकारवालाहरूबीच सहकार्य, नवप्रवर्तन र ज्ञान आदानप्रदानको महत्वलाई जोड दिएको छ । समावेशी र उत्थानशिल  विकास, स्वच्छ ऊर्जाको प्रयोग र न्यायपूर्ण ऊर्जा संक्रमणलाई प्रवद्र्धन गर्नुपर्ने आवश्यकता पनि कार्य आह्वानमा उल्लेख छ ।  

जलवायुजन्य विपद्हरूलाई सम्बोधन गर्न विज्ञान, प्रविधि र नवप्रवर्तनमा आधारित समाधानहरू खोज्न तथा हिमनदी, जलस्रोत, वन र कृषि प्रणालीको संरक्षणमा सगरमाथा सम्वादले जोड दिएको छ। यसका साथै, जलवायु परिवर्तनको असरबारे जनचेतना अभिवृद्धि गर्न र स्थानीय समुदायको भूमिकालाई सुदृढ गर्न पनि आह्वान गरिएको छ ।

समापन कार्यक्रमा बोल्दै परराष्ट्रमन्त्री आरजु राणा देउवाले पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनले पारेको  प्रभाव उजागर गर्न र यो बिषयलाई अन्तराष्ट्रिय स्तरमा पैरवी गर्न सवाद ‘सफल’ भएको दावी गरीन् ।

‘हामीले यो विषयलाई आगामी दिनमा पनि लगातर अगाढि बढाउने छौ,’ उनले भनीन् । समापन अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्र सचीब अमृत बहादुर राईले सवादले नेपालको सौम्य शक्ति(सफ्ट पावर) बढाएको बताए । उनले सवादका निश्कर्षलाई अन्य अन्र्तराष्ट्रिय र क्षेत्रीय मंचमा पनि प्रस्तुत गरिने बताए ।

‘ हिमाल र जलवायु परिवर्तन अजेन्डलाई संवादले थप उचाईमा पुरयाएकोछ । यसलाई निरन्तरता दिइनेछ,’ सचीव राइको भनाई थियो । 

प्रकाशित: ४ जेष्ठ २०८२ १९:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App