८ असार २०८२ आइतबार
image/svg+xml
समाज

कञ्चनजङ्घा हिमाल : साहसिक यात्राको आकर्षक गन्तव्य

विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। साहसिक यात्रा, ट्रेकिङ र हिमाल आरोहणका लागि यो क्षेत्र रोज्ने विदेशी पर्यटकको सङ्ख्या क्रमशः बढ्दै छ।

हालै पाँच विदेशी नागरिकसहित १० जनाको टोलीले कञ्चनजङ्घा हिमाल सफलतापूर्वक आरोहण गरे। उनीहरूले सेभेन समिट ट्रेक्समार्फत आरोहण गरे। सफल आरोहीमा बेलायत, इरान, कोसोभोका नागरिक र नेपाली शेर्पा छन्। इलाइट एक्सपिडिसन काठमाडौँका निर्देशक मिङ्मा डेभिड शेर्पाले भने, ‘थप ६३ आरोही र पथप्रदर्शक कञ्चनजङ्घा हिमाल आरोहणका लागि हाल उक्त क्षेत्रमै छन्।’

कञ्चनजङ्घा हिमालको दक्षिण आधार शिविरतर्फ विदेशी पर्यटकको आकर्षण बढ्दो छ। कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को याम्फुदिनस्थित कार्यालयका पर्यटन सहायक सूर्यमान राईले भने, ‘गत चैतयता १६ अमेरिकी, १५ भारतीय, पाँच रुसी, चार इजरायली, दुई बेलायती र दुई नेदरल्यान्डका गरी ४४ विदेशी पर्यटकले दक्षिण आधार शिविर भ्रमण गरे।’ कञ्चनजङ्घा उत्तरी आधार शिविरतर्फ पर्यटकको उपस्थिति उल्लेखनीय छ। घुन्सा पर्यटन चेकपोष्टका पर्यटन सहायक टासी तेन्जिङ शेर्पाले भने, ‘हालसम्म तीन सय ६० विदेशी पर्यटकले उत्तरी आधार शिविरको भ्रमण गरिसके।’

कञ्चनजङ्घा क्षेत्र विदेशीका लागि मात्र नभई आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ। तर आन्तरिक पर्यटकको विस्तृत तथ्याङ्क कार्यालयहरूमा सूचीकृत छैन। कञ्चनजङ्घा हिमाल समुद्री सतहबाट आठ हजार ५८६ मिटरको उचाइमा छ। यस हिमालको आरोहण र अवलोकनका लागि दक्षिण र उत्तरी आधार शिविर छन्।

उत्तरी आधार शिविर (ओक्ताङ)
उत्तरी मार्गबाट कञ्चनजङ्घा आधार शिविर पुग्न ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारबाट जापनटारसम्म चार घण्टा सवारी यात्रा गर्नुपर्छ। त्यसपछि जापनटारबाट तीन दिनको ट्रेकिङपछि घुन्सा गाउँ पुगिन्छ। घुन्सा गाउँबाट थप तीन दिन पैदलयात्रा गरेपछि पाँच हजार २०० मिटरको उचाइमा ओक्ताङ पुगिन्छ, जुन कञ्चनजङ्घा हिमालको उत्तरी क्षेत्रको अन्तिम आधार शिविर हो। घुन्सा मार्गमा आधारभूत सुविधायुक्त होटल, होमस्टे, पर्यटक विश्रामस्थल छन्, जसले पर्यटकको बसोबासलाई सहज बनाएको छ।

दक्षिण आधार शिविर (पाङपेमा)
दक्षिण मार्गबाट फुङ्लिङ बजारबाट सवारीसाधनमार्फत सात घण्टामा याम्फुदिन गाउँ पुगिन्छ। त्यसपछि तीन दिनको ट्रेकिङ गरेपछि चार हजार ८०० मिटरको उचाइमा पाङपेमा पुगिन्छ, जुन कञ्चनजङ्घाको दक्षिण क्षेत्रको अन्तिम आधार शिविर हो। यस मार्गमा स्थानीय बासस्थान, होमस्टे र गाइडहरूको व्यवस्था छ।

हिमाल आरोहणकर्ताले आधार शिविरमा केही दिन शारीरिक अभ्यस्तता गरी क्याम्प १, २, ३ हुँदै शिखरतर्फ यात्रा गर्छन्। आरोहण सफल बनाउन पथप्रदर्शक, उच्च पहाडी कामदार, चिकित्सक र व्यवस्थापन समूहको सहभागिता अपरिहार्य छ। कञ्चनजङ्घा हिमाल प्राविधिक हिसाबले नेपालका अन्य आठ हजार मिटर उचाइ भएका हिमालमध्ये कठिन छ। बदलिँदो मौसम, पातलो अक्सिजन, हिमपहिरोको जोखिमले यसलाई चुनौतीपूर्ण बनाउँछ। यहाँको आरोहण सामान्यभन्दा लामो समय लिन्छ र उच्चस्तरको तयारी आवश्यक पर्छ। गत साता हिमाल आरोहण क्रममा एक फ्रान्सका नागरिकको मृत्यु भयो।

नेपालको पूर्वी क्षेत्रस्थित कञ्चनजङ्घा हिमाल नेपालको गौरवमात्र नभई अन्तरराष्ट्रियस्तरमा पर्यटन सम्भावनाको धनी क्षेत्र हो। प्राकृतिक सौन्दर्य, जैविक विविधता र सांस्कृतिक सम्पदाले यस क्षेत्रमा पर्यटन आकर्षण बढाउने सम्भावना छ। सञ्चार र पूर्वाधार व्यवस्थित भएमा कञ्चनजङ्घा क्षेत्र साहसिक पर्यटन र ट्रेकिङ गन्तव्य बन्न सक्छ। ट्रेकिङ मार्गमा नयाँ होमस्टे, बाटोमा सङ्केत चिह्न, प्राथमिक उपचार केन्द्र र आपत्कालीन उद्धार सेवा विस्तार भएमा पर्यटक बढ्नेछन्।

कञ्चनजङ्घा क्षेत्रमा पर्यटन विकाससँगै स्थानीय समुदायको सहभागिता उल्लेखनीय छ। होमस्टे सञ्चालन, पथप्रदर्शक, पोर्टर, खच्चड सेवा, हस्तकलाका सामग्री बिक्रीबाट समुदायले राम्रो आम्दानी गरिरहेका छन्। दिलकुमार लिम्बू / रासस

प्रकाशित: ४ जेष्ठ २०८२ १०:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App