१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

गुलमोहरको राताम्मे सौन्दर्यले पर्यटक मोहित

बुद्धशान्ति गाउँपालिका–४ बर्नेस्थित झापाबाट इलाम जाने सडक किनारमा ढकमक्क फुलेका गुलमोहरले दैनिक हजारौँ पर्यटकलाई आकर्षित गरेको छ। यहाँ फुलेका गुलमोहरले पर्यटकलाई लोभ्याउने गरेको छ।

गुलमोहरको फोटो र श्रव्यदृश्य खिच्न पर्यटकको घुइँचो लाग्ने गरेको छ। ‘कति पर्यटक आउँछन् भनेर तथ्याङ्क राखिएको छैन,’ गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईँले भने। पर्यटकको चहलपहल बढेपछि गाउँपालिकाले गत वर्ष सो स्थानमा खानेपानी, शौचालय र चौतारो बनाएको छ। साना होटल र चिया पसल पनि खुल्ने क्रममा छन्।

मेची राजमार्गमा पर्ने यो स्थानमा बर्ने चिया बगान पनि छ। चिया बगानको हरियालीमा राताम्मे गुलमोहरले हरेक यात्रुलाई मोहित गर्ने गरेको छ। शनिबार र सार्वजनिक बिदामा अन्य दिनभन्दा बढी पर्यटक आउने अध्यक्ष प्रसाईँले बताए। गाउँपालिकाले गत वर्ष त्यस वरपर दुई सयभन्दा बढी गुलमोहरका बिरुवा रोपेको छ।

गाउँपालिकाले गुलमोहर भएको सडक छेउको आधा किलोमिटर क्षेत्रमा ब्लक बिछ्याएर सडक फराकिलो बनाएको छ। पर्यटकले त्यसलाई ‘टिकटक रोड’ नाम दिएका छन्। इलामको कन्याम, श्रीअन्तु, माइपोखरीलगायत पर्यटकीयस्थल जानेहरू गुलमोहरको सौन्दर्यबाट मोहित हुने गरेका छन्।

यहाँबाट एक किलोमिटर उत्तर बुद्धशान्तिकै वडा नं ६ मा कोशी प्रदेशकै लामो झोलुङ्गे पुल छ। झोलुङ्गे पुल हेर्न जानेहरू पनि बाटोमा रहेको गुलमोहरको सौन्दर्यको आनन्द लिन छुटाउँदैनन्। गुलमोहरले आकर्षित गर्दा यहाँका सवारीसाधनमा यात्रुको चाप बढेको छ। रासस

प्रकाशित: ४ जेष्ठ २०८२ ०७:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App