१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

१० वर्षको अन्धकारपछि रामबहादुरको मुहारमा फर्किएको खुसी

गुम्दा गाउँका ८८ वर्षीय रामबहादुर गुरुङले दश वर्षपछि संसार देख्न थाले। विगत १० वर्षदेखि दुवै आँखाको ज्योति गुमाएका उनलाई ज्वाइँ कर्णमाहिला गुरुङले बोकेर विद्यालयको आँगनमा ल्याएका थिए। उनीजस्तै ४८ जनाले पनि आँखा देख्न थाले।

गाउँमा मङ्गलबार, बुधबार र बिहीबार आयोजित शल्यक्रिया शिविरमा गुरुङको आँखाको शल्यक्रिया भएको थियो। निर्धारित समयमा वरिष्ठ आँखारोग विशेषज्ञ कमलबहादुर खड्का नेतृत्वको टोलीले आँखाको पट्टि खोल्न थाल्यो। उनको पालो सबैभन्दा पछि थियो।

जब चिकित्सकले गुरुङको आँखाको पट्टि खोले, उनी कुर्चीबाट उठे र विस्तारै आँखाका परेला खोल्न थाले। ‘एक दशकदेखि अन्धकार बनेको रङ्गीन संसार देखेँ। ऊ, मेरो ज्वाइँ,’ घरबाट बोकेर ल्याएका कर्णमाहिलातिर देखाए। सबैतिर हेर्न हतार नगर्न चिकित्सकले सुझाए। उनले संसार देखाइदिने चिकित्सकलाई धन्यवाद दिए।

गोरखाको धार्चे गाउँपालिका–५ गुम्दाका रामबहादुर गुरुङले दुवै आँखाको ज्योति गुमाएको १० वर्ष भएको थियो। ‘२०६८ सालमा बारी जोत्दा हलोको फालीले लागेर दाहिने आँखा गुमाएको थिएँ, त्यसको चार वर्षपछि देब्रे आँखा पनि देख्न छाडेँ,’ उनले भने।

त्यसयता उनलाई घरआँगन परदेश लाग्न थाल्यो, आफन्तहरू पराया जस्ता। आफैँ हिँड्न नसक्ने भएपछि परिवारले सुताउने, उठाउने, खाना खुवाउने र शौचालयसम्म लैजाने, ल्याउने गर्नुपर्थ्यो।

‘पहिले स्वरले चिन्थेँ। स्वर पनि बिर्सिएर विस्तारै चिन्न छाडेको थिएँ। म फलानो हुँ भन्यो भने बल्ल याद आउँथ्यो,’ गुरुङले भने, ‘घरमा बूढी पनि रोगी, छोरा विदेशमा छ। एउटा बुहारीले घरबारीको काम, हामी बुढाबूढीको स्याहार, नातानातिनीको स्याहार सबै हेर्नुपर्छ। बुढेसकालमा अरु केही गर्न नसके पनि आफ्नो काम आफैँ गर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो। त्यो सपना आज पूरा भयो।’

शल्यक्रियापछि ससुरा आफैँ हिँड्डुल गर्न सक्ने भएपछि कर्णमाहिलालाई सन्तोष मिलेको छ। ‘बुढो मान्छे, त्यसमाथि आँखा नदेख्ने भएपछि साह्रै बिजोग हुनेरहेछ,’ उनले भने, ‘अब त सबै देखेँ, हिँड्छु भनेका छन्। यति भयो भने घरपरिवारलाई धेरै हलुका हुन्छ।’

धार्चे गाउँपालिकाको आयोजना, मुटु फाउन्डेसन र मनोज एसोसिएसन फ्रान्सको आर्थिक सहयोग तथा मात्रिका आई फाउन्डेसनको प्राविधिक सहयोगमा गुम्दामा निःशुल्क आँखा शिविर सञ्चालन भएको थियो। शिविरमा गुम्दा, सिङ्ला, लप्सीबोट, यामगाउँ, खानीगाउँलगायत क्षेत्रका ४०७ जनाले सेवा लिए। रामबहादुरसहित ४९ जनाको मोतियाबिन्दुको शल्यक्रिया भएको थियो।

तीन दिनसम्म चलेको शिविरमा वरिष्ठ आँखारोग विशेषज्ञ डा कमलबहादुर खड्का नेतृत्वको टोलीले सेवा दिएको थियो। विकट ठाउँमा आएर वृद्धवृद्धालाई सेवा दिन पाउँदा खुसी लागेको डा खड्काले बताए। ‘गाउँघर यस्तै हो, कति दुःख कति सुख। जे होस् यति टाढा आएर सेवा दिने मौका मिल्यो। खुसी लागेको छ,’ उनले भने। रासस

प्रकाशित: ४ जेष्ठ २०८२ ०७:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App