जुम्ला सदरमुकाम खलंगामा सञ्चालित केही खाना घरहरूले महँगीको यस समयमा सय रुपैयाँमै पेटभरि स्वादिष्ट खाना उपलब्ध गराएर ठूलो राहत प्रदान गरिरहेका छन्।
यी ‘सस्ता भान्सा’ विशेषगरी दैनिक ज्यालादारी गर्ने मजदुर, न्यून आय भएका व्यक्ति तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आउने बिरामी र उनीहरूका कुरुवाका लागि आश्रय बनेका छन्।
प्रतिष्ठानको माथिल्लो गेट नजिकै सञ्चालित ‘गुडविल फुड ल्याण्ड’ यस्तै एक लोकप्रिय गन्तव्य हो। यहाँ सादा खाना सय, चिकेन डेढ सय र मटन खाना दुई सय पचास रुपैयाँमा पाइन्छ। सञ्चालक लक्ष्मीनारायण उपाध्याय भन्छन्, ‘सेवा गरेर आफू पनि बाँचौं र अरुलाई पनि बचाऔं भन्ने उद्देश्य हो।’
उनका अनुसार, दैनिक ३५० देखि ४५० जनासम्मले यहाँ खाना खान्छन्। जुम्लाका गाउँठाउँ, डोल्पा, मुगु र कालिकोटबाट आउने बिरामी र कुरुवा यहाँका नियमित ग्राहक हुन्।
सस्तो, मीठो खाना र निःशुल्क इन्टरनेटले पनि आकर्षण बढाएको छ। प्रतिष्ठानमा आउनेहरूले महँगोमा खानुपर्दा पाएको दुःख देखेर पाँच महिनाअघि उपाध्याय दम्पतीले यो सेवा थालेका हुन्।
यस्तै, जुम्ला बसपार्कमा सञ्चालित ‘चुलोचौको भान्सा घर’ पनि न्यून आय भएका र यात्रुहरूको रोजाइमा परेको छ। सञ्चालक दिपेन्द्र हमालले ११ महिनादेखि यो भान्सा घर चलाउँदै आएका छन्।
‘सबैले महँगोमा खान सक्दैनन्, कोही भोकै नपरुन् भन्ने हो,’ हमाल भन्छन्। यहाँ दैनिक २०० देखि ३५० जनाले खाना खान्छन्। ‘हाम्रै मैडो खाना एण्ड खाजा घर’ अर्को सहयोगी स्थान हो। सञ्चालक रतन बोहोराले तीन महिनादेखि सस्तोमा खाना तथा खाजा खुवाइरहेका छन्।
अस्पताल गेट नजिकै भएकाले बिरामी कुरुवाको सास्ती देखेर यो सोच आएको उनी बताउँछन्। ‘ग्राहकलाई सस्तोमा खुवाउँदा सन्तुष्टि मिल्छ,’ बोहोरा भन्छन्।
कालिकोट ताडीबाट छोराको उपचारका लागि आएका रतनबहादुर शाही यस्ता सस्ता खाना घरबाट निकै लाभान्वित भएको बताउँछन्। ‘अन्यत्र सादा खानाकै ३५० पर्छ। यहाँ सस्तोमा पाउँदा खानामा हुने धेरै खर्च जोगिएको छ,’ उनले खुसी व्यक्त गरे।
जुम्लाका यी खाना घरहरू केवल व्यवसाय मात्र नभई, कठिन समयमा सेवाभावको उत्कृष्ट उदाहरण समेत बनेका छन्।
प्रकाशित: ३ जेष्ठ २०८२ २१:४१ शनिबार