३० जेष्ठ २०८२ शुक्रबार
image/svg+xml
समाज

कपिलवस्तुमा हावाहुरीको वितण्डा: विद्युत संरचनामा व्यापक क्षति, आपूर्ति अवरुद्ध

कपिलवस्तुमा शुक्रबार दिउँसो आएको भीषण हावाहुरीले विद्युत् पूर्वाधारमा व्यापक क्षति पुर्‍याउँदा अधिकांश क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ।

हावाहुरीले नेपाल विद्युत् प्राधिकरणको तौलिहवा र कृष्णनगर वितरण केन्द्र अन्तर्गतका दर्जनौँ विद्युत् पोल ढालेको छ भने तारहरू चुँडाएको छ। जसका कारण यहाँको जनजीवन प्रभावित बनेको छ।

प्राधिकरणका अनुसार हावाहुरीले पोल ढल्ने, तार चुँडिने, पिन तथा डिस्क इन्सुलेटर फुट्ने जस्ता क्षति पुर्‍याएको हो।

सबैभन्दा बढी क्षति तौलिहवा वितरण केन्द्र अन्तर्गत कपिलवस्तु नगरपालिका आसपास र गोरुसिङ्गे-पत्थरकोट जङ्गल क्षेत्रमा भएको छ।

तौलिहवा वितरण केन्द्रका प्रमुख गौरव पाण्डेयले आफ्नो क्षेत्रमा मात्रै २१ भन्दा बढी स्थानमा ४० भन्दा बढी पोल ढलेको जानकारी दिए। उनका अनुसार ३३ केभी प्रसारण लाइनमा समस्या नभए पनि ११ केभी र एलटी लाइनमा बढी क्षति पुगेको छ।

‘सदरमुकाम तौलिहवा बजार क्षेत्रमा विद्युत् सुचारु भइसकेको छ, तर अन्य प्रभावित स्थानमा पूर्ण रूपमा आपूर्ति नियमित हुन करिब ५ दिन लाग्नसक्छ,’ प्रमुख पाण्डेयले भन्छन्, ‘क्षतिग्रस्त संरचनाको मर्मत कार्य तीव्र गतिमा भइरहेको छ।’

तौलिहवा बजार क्षेत्र, घनचौरा, चार नम्बर जीतपुर, गोरुसिङ्गे लगायतका क्षेत्रमा आंशिक रूपमा विद्युत् आपूर्ति सुचारु गरिएको छ।

यसैगरी, कृष्णनगर वितरण केन्द्रका प्रमुख सुशील पौडेलले आफ्नो क्षेत्रमा १२ भन्दा बढी पोल ढले पनि अधिकांश स्थानमा विद्युत् आपूर्ति सुचारु भइसकेको सुनाए।

‘हावाहुरीपछि केही समय विद्युत् अवरुद्ध भए पनि अहिले अधिकांश स्थानहरूमा लाइन सुचारु भइसकेको छ,’ उनले भने। कृष्णनगर नगर क्षेत्रमा विद्युत् आपूर्ति पूर्ण रूपमा सुचारु भएको जनाइएको छ।

विद्युत् प्राधिकरणका प्राविधिक टोलीहरू हाल क्षतिग्रस्त स्थानहरूमा खटिएर मर्मत सम्भारको कार्यलाई तीव्रता दिइरहेका छन्। तुलनात्मक रूपमा कृष्णनगर आसपासका क्षेत्रमा कम क्षति पुगेको प्राधिकरणले जनाएको छ।

प्रकाशित: ३ जेष्ठ २०८२ १९:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App