ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले किसानलाई अर्ग्यानिक कृषि प्रणालीमा जोड्दै गुणस्तरीय बिरुवा र प्राविधिक ज्ञान उपलब्ध गराउन स्थापना गरेको नमुना नर्सरी प्रभावकारी बन्दै गएको छ।
पालिकाको केन्द्र साब्लाखुमा सञ्चालित उक्त नर्सरीबाट पछिल्लो दुई वर्षको अवधिमा तरकारी, फलफूल र फूलका गरी करिब दुई लाख बिरुवा बिक्री भइसकेका छन्।

गाउँपालिकाले जग्गा भाडामा लिएर स्थापना गरेको यस नर्सरीमा लसुन, प्याज, खुर्सानी, टमाटर, गाँजर, बन्दा, काउली (फूलकोभी), मुला, साग, काँक्रा, चुकन्दर, कागती र सुन्तला जस्ता दैनिक उपभोग्य तरकारी तथा फलफूलका बिरुवा उत्पादन गरिन्छ।
साथै, पुष्पका अनेकौँ प्रजातिका बिरुवा र माछाका भुरा उत्पादन केन्द्रको रुपमा समेत यसलाई विकास गरिँदै लगिएको पालिकाको कृषि शाखाका सहायक पाँचौं सञ्जयकुमार धामीले जानकारी दिए।

‘निकै राम्रो भएको छ, नर्सरीबाट बिरुवा खरिद गरेर लैजानेले रोपणको तरिका समेत थाह पाउनु हुन्छ र अर्ग्यानिक उत्पादनतर्फ उहाँहरुलाई प्रेरित गरिन्छ,’ नमुना नर्सरीको प्रभावकारिताप्रति प्रसन्नता व्यक्त गर्दै गाउँपालिका अध्यक्ष मानबहादुर राईले भने।
उनका अनुसार नर्सरीको परिकल्पना तत्कालीन कृषि शाखा प्रमुख विकास थेबेले गरेका हुन् र थेबे हाल अध्ययनका क्रममा बाहिर रहे पनि महिनामा एकपटक नर्सरी व्यवस्थापनमा सल्लाह दिँदै आएका छन्।
गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी कडरिया (बन्दना) ले अर्ग्यानिक खेतिप्रति किसानलाई प्रोत्साहित गर्न र सुपथ मूल्यमा गुणस्तरीय बिरुवा उपलब्ध गराउन नर्सरी साँच्चै नमुना बनेको सुनाइन्।
‘किसानले पालिकाको नर्सरीबाट बिरुवा मात्र पाउँदैनन्, बिरुवा रोपण गर्ने तरिकादेखि त्यसको सम्भार र व्यवस्थापन गर्ने प्राविधिक सल्लाहसमेत पाउँछन्,’ उनले भनिन्।
नमुना नर्सरीमा कुनै पनि विषादी प्रयोग नगरी स्थानीय किसानको गोबर मल र पशु चौपायाको शौच सङ्कलन गरी जैविक मलका रुपमा प्रयोग गरिन्छ।
यसले किसानको गोबरमल बिक्री हुनुका साथै रासायनिक विषादीको सट्टा जैविक मल प्रयोगमा चेतना अभिवृद्धि भएको कृषि शाखाका धामीको भनाइ छ।
पालिकाको पशु स्वास्थ्य शाखामा कार्यरत सञ्जय श्रेष्ठले बीउको सट्टा बिरुवा नै उपलब्ध गराउँदा किसानका गुनासा सम्बोधन भएको र नर्सरीमा उत्पादित डेढ किलोग्रामसम्मको प्याजले किसानमा ‘गर्दा हुने रहेछ’ भन्ने विश्वास जगाएको सुनाए।
गाउँपालिकाले सातवटै वडामा माटो सुहाउँदो अर्ग्यानिक तरकारी तथा फलफूल खेतीलाई प्रोत्साहन गरिरहेको छ। व्यावसायिक फलफूल खेतीका लागि न्यूनतम सय बिरुवा रोप्ने किसान वा फार्मलाई सुपथ मूल्यमा बिरुवा उपलब्ध गराइन्छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास विकका अनुसार कार्यपालिकाले नर्सरीमा उत्पादित बिरुवाको न्यूनतम मूल्य निर्धारण गरेको छ, जसले बाहिरी जिल्लाबाट बिरुवा आयात गर्नुपर्ने अवस्थाको अन्त्य गर्दै प्राविधिक सल्लाहसहितको सेवालाई प्रभावकारी बनाएको छ।
नर्सरीमा पुग्ने किसानलाई कृषि प्राविधिकहरूले बिरुवा रोपण, काँटछाँट, सिँचाइ, मलखाद व्यवस्थापन र संरक्षणबारे विस्तृत जानकारी दिने गरेका छन्।
प्रकाशित: ३ जेष्ठ २०८२ १५:२६ शनिबार





-600x400.jpg)