१४ माघ २०८२ बुधबार
image/svg+xml
समाज

स्वरबाटै पार्किन्सन्स पत्ता लाग्ने

यस्ताे पनि!

आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बुद्धिमता)को विकास यति सशक्त रूपमा हुँदै जान थालेको छ कि यसले विभिन्न रोग पत्ता लगाउने र तिनलाई सर्वोत्कृष्ट तरिकाले उपचार गर्नेतर्फ उन्मुख हुँदै जान थालेको छ।

वैज्ञानिकहरूले मान्छेको स्वर सुनेर नै उसमा भविष्यमा पार्किन्सन्स हुन्छ कि हुँदैन भन्ने पत्ता लगाउने विधि पत्ता लगाएका छन्। वैज्ञानिकहरूले पार्किन्सन्सको उपचार के हो भन्नेबारे पत्ता लगाउन सकेका छैनन्।

खासगरी मस्तिष्कमा रहेका न्यूरोन (तन्त्रिका)मा समस्या देखिएपछि यो रोग लाग्ने गर्छ। मस्तिष्कमा स्नायू कोषिकाहरू (नर्भ सेल्स) मर्दै जान थालेपछि डोपामिन उत्पादन कम हुन्छ र त्यो कम हुन थालेपछि मस्तिष्क नियन्त्रण वा सक्रिय हुने क्रम कम हुन थाल्छ। जब स्नायू कोशिकाहरू ६० देखि ८० प्रतिशतसम्म पर्न थाल्छन्, त्यो बेला मानिसलाई पार्किन्सन्स रोग देखिन थाल्छ।

पार्किन्सन्स भएका व्यक्तिको हात, गोडा वा अनुहार काँप्न थाल्छ। यसमा उसको नियन्त्रण गुम्न थाल्छ। चाल स्वतः सुस्त हुन थाल्छ। शरीर अररो हुन पुग्छ। यसपछि व्यक्तिले आफ्नो उभिने वा दायाँ बायाँ गर्ने शक्ति गुमाउँदै जान् छ। यस्तो रोगमा मान्छेको मूड तुरुन्त परिवर्तन हुने, सुत्न समस्या हुने, बोली र स्मृतिमा कमजोरी देखिन थाल्छ।

प्रायः ६० वर्षभन्दा माथिका व्यक्तिमा यस्तो समस्या देखिने गरेको छ। आनुवांशिकता (जेनेटिक) कारणले यो रोग लाग्ने वैज्ञानिकहरूको दाबी छ। र, पनि वातावरणीय, रासायनिक पदार्थजस्ता नियमित सम्पर्कमा रहनेलाई पनि यो रोग लाग्छ।

उपचारको ठ्याक्कै अवस्था अहिले नदेखिए पनि स्वस्थ खानपान, नियमित व्ययाम, धूमपान नगर्ने, विषालु पदार्थबाट टाढै रहने सँगै रक्तचाप र मधुमेहजस्ता रोगलाई नियन्त्रण गर्न सकेको खण्डमा पार्किन्सन्स हुने प्रक्रिया सुस्त गर्न सकिने वैज्ञानिकहरूले सुझाएका छन्।

अहिलेलाई भने एआईले मान्छेको स्वर सुनेर नै भविष्यमा हुन लागेको पार्किन्सन्स रोगको बारे पहिले नै जानकारी दिन सक्षम भएको छ। यसअघि छालाको जाँच, ढाडको हाडमा रहेको तरल पदार्थको मात्रा जस्ता जाँच गरेर यो रोगका बारेमा पत्ता लगाइने गरिन्थ्यो।

वैज्ञानिकहरूले यस परीक्षणका लागि १९५ जना व्यक्तिको आवाज संकलन गरेका थिए। तीमध्ये ३१ जना पार्किन्सन्सको सम्भावना भएका व्यक्ति थिए। तर एआईले २३ जनालाई भविष्यमा पार्किन्सन्स हुने भविष्यवाणी गरेको थियो।

९० प्रतिशतभन्दा बढी पार्किन्सन्सका रोगीहरूमा स्वरमा एक किसिमको उच्चारण विकार विकसित हुने गर्छ। यस्तो उच्चारण विकार हुनुमा स्नायू तन्त्रिकाको बाटो अवरुद्ध भएकाले र यो अवरुद्ध हुने क्रम तीव्र रूपमा बढे पार्किन्सन्स पनि उही गतिमा बढ्ने अध्ययनले देखाएको छ। स्वरबाट नै भविष्यको पार्किन्सन्स पत्ता लगाउन सफल हुनु एउटा उपलब्धि नै रहेको विज्ञहरूले बताएका छन्।

प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: २ जेष्ठ २०८२ ०७:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App