काठमाडौंको नागढुङ्गामा कार्यरत एक प्रहरी जवानमाथि हातपात गरेको आरोपमा ट्राफिक प्रहरी निरीक्षकलाई जिम्मेवारीबाट हटाइएको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयले उक्त घटनाको भिडियो सार्वजनिक भएपछि आरोपित निरीक्षकलाई तत्काल जिम्मेवारीबाट मुक्त गरी छानबिन प्रक्रिया अघि बढाएको हो।
बुधबार बिहान नागढुङ्गा प्रहरी प्रभाग परिसरमा ट्राफिक प्रहरी प्रभाग नागढुङ्गाका प्रमुख प्रहरी निरीक्षक जितेन्द्र कुमार साहले प्रहरी सहायक हवल्दार अमर खड्कालाई थप्पड हान्नुका साथै लछारपछार पारेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। भिडियोमा निरीक्षक साहले मोबाइल हेर्दै खड्कालाई कुटपिट गरेको देखिन्छ।
घटनाको सम्बन्धमा काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालले विभिन्न सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरूमा प्रकाशित भिडियो तथा समाचारप्रति कार्यालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै भने, ‘सो कार्यमा संलग्न देखिएका प्रहरी कर्मचारीहरूलाई हालको जिम्मेवारीबाट हटाई आवश्यक छानबिन भइरहेको छ।’
प्रहरीले घटनाको विस्तृत अनुसन्धान अघि बढाएको छ ।
प्रकाशित: ३१ वैशाख २०८२ २१:४६ बुधबार